मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस दुर्घटना हुँदा २५ बालबालिकाको मृत्यु

पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको एक अधिकारीले मङ्गलबार बताएका छन् ।तर धार्मिक तीर्थयात्राका आयोजकहरूले ४० जनाको मृत्यु र ३१ जना घाइते भएको बताएका छन् ।

नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख कबिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा अनुयायीहरू बोकेको बसले नियन्त्रण गुमाउँदा लेरे जिल्लामा एउटा ट्रकसँग ठोक्किएको बताउनुभयो ।

“बसमा ६३ जना बालबालिका थिए र चालकले लापरवाहीपूर्वक गाडी चलाइरहेका थिए, उनले नियन्त्रण गुमाउँदा बस ट्रकसँग ठोक्कियो”, उहाँले भन्नुभयो, “तीमध्ये १५ जनाको घटनास्थलमै मृत्यु भयो भने घाइते ४८ जनालाई विभिन्न अस्पताल लगियो, तीमध्ये १० जनाको भोलिपल्ट मृत्यु भयो ।”

नादाबोका अनुसार बालबालिकाहरू क्वान्डार गाउँका थिए र पैगम्बर मोहम्मदको जन्मदिनमा हुने वार्षिक मौलुद उत्सवमा भाग लिन नजिकैको समिनाका सहर गइरहेका थिए ।घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएकाले थप विवरण आउन नसकेको उहाँले बताउनुभयो । तीर्थयात्राका आयोजकहरूमध्येका एक डिक्को दाहिरुले दुर्घटनामा ४० बालबालिकाको मृत्यु भएको र ३१ जना घाइते भएको बताउनुभयो ।

“बसमा ७१ यात्री थिए र ३६ जनाको तत्काल मृत्यु भयो भने अन्य चार जनाको भोलिपल्ट मृत्यु भयो”, उहाँले भन्नुभयो, “गम्भीर घाइते भएका ३१ जनालाई अस्पताल लगिएको छ र तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।”नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले पीडितका परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गर्दै ‘दिवङ्गतहरूको आत्माको शान्तिका लागि प्रार्थना’ गर्नुभयो ।

मङ्गलबार विज्ञप्तिमा राष्ट्रपति टिनुबुले एफआरएससीलाई ‘राजमार्ग अनुगमनमा सुधार गर्न र मुलुकभर सडक दुर्घटनाहरूको सङ्ख्या कम गर्न’ निर्देशन दिनुभयो ।नाइजेरियाको मर्मत गरिएका खराब सडकहरूमा तीव्र गति र ट्राफिक नियमहरूको बेवास्ताका कारण दुर्घटना हुने गर्छन् ।