सधै चर्चा र विवादमा रहने राजेन्द्र महताेले किन खाेले नयाँ दल ?

नेपाली राजनीतिका चर्चित अनि विवादित पात्र हुन् राजेन्द्र महतो। मधेश केन्द्रित राजनीति गरेर उदाएका महतो जीवनकालमा पाँचपटक मन्त्री भइसकेका छन्।

०७९ को निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा पराजित भएपछि उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका थिए। अध्यक्ष महन्थ ठाकुरसँग विवाद बढ्दै गएपछि उनले दल त्यागेका थिए।  तिनै महतोले मंगलबार नयाँ दल घोषणा गरेका छन्। नेपाली राजनीतिबाट किनाराकृत हुन थालेका महतोले आफ्नो अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन गरेका हुन्। महतो एक्लै लोसपाबाट निस्केपछि उनको पार्टीमा को–को जोडिएलान् भन्ने चासोको विषय बनेको छ ।

लोसपाका नेताहरूले अहिले महतोलाई साथ दिइसकेका छैनन् । लोसपाको महामन्त्री रहेका केशव झाबाहेक उपल्लो तहका नेता लोसपाबाट निस्केका छैनन्। तर, फरक धारमा काम गरिरहेका अभियन्ता बाबुछिरिङ लामा र सुमन सायमीले भने साथ दिएका छन्।  'मधेशदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट हुनुपर्छ। राष्ट्रिय मुक्ति आन्दोलनबाट नै नयाँ राजनीतिक शक्तिको उदय भएको छ,’ महतोले भने। 

नयाँ दल खोल्ने भन्दै उनी डेढ वर्षदेखि अभियानमा थिए। गत पुसमा मात्र उनी दिल्ली पुगेका थिए।

०४६ सालपछि राजनीतिमा जोडिएका महतो ०४८ सालको निर्वाचनपछि भने निरन्तर चुनावी प्रतिस्पर्धामा सामेल भए। २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा मात्रै उनी विजयी भएका हुन्। अघिल्ला निर्वाचनमा सर्लाहीबाट उम्मेदवार हुने गरेका महतो ०७४ सालमा भने धनुषा पुगेका थिए। ०७९ को निर्वाचनमा लोसपा उम्मेदवार रहेका उनी हारेका थिए।

महतो राजनीतिमा आएको १० वर्षपछि मन्त्री बनेका थिए। महतो गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा फेरि वाणिज्य तथा आपूर्ति मन्त्री बने। 
माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि वाणिज्य तथा आपूर्तिमन्त्री बनेका महतो डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भने स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए। पछिल्लो पटक ०७८ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्री बनेका महतो पछिल्लो पटक केन्द्रीय राजनीतिबाट टाढाजस्तै थिए।