पत्रकार ऋषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा

पत्रकार क्रृषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर भएको छ । प्राइम एचडी  टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले पुर्याएको क्षति वापत १० करोडको दाबी गर्दै व्यापारी राधेश्याम खड्काले मुद्दा दर्ता गराएका हुन् । 

आफूलाई ठगको संज्ञा दिँदै धमलाले भदौ १७ गते काठमाण्डौं जिल्ला अदालतमा फिरादपत्र दायर गरेका हुन् । कात्तिक २१ गतेका लागि पेशी तोकिएको दर्ता नम्बर ०८१ सीचार १०२२ को मुद्दामा धमलाले टेलिभिजन कार्यक्रममा इमान विष्टलाई उपस्थित गराएर आफ्नो सार्वजनिक गाली बेइज्जती गराएको खड्काको दाबी छ । झूठा कार्यक्रमको खण्डनका लागि प्रेस काउन्सिलमा निवेदन दर्ता गरेर पत्रकार आचार संहितामा कारबाहीको माग समेत गरेका खड्काले आफूविरुद्ध भएको गालीबेइज्जती उपरको क्षतिपूर्तिका लागि फिराद पत्र दायर गरेको उनका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

प्रशारित कार्यक्रममा पीडित भनिएका व्यक्तिमार्फत् आफूलाई गाली बेइज्जती गराउने उद्देश्य राखिएको फिराद पत्रमा लेखिएको छ । पीडित भनिएकाले टेलिभिजनमा खड्कालाई आरोप लगाएका छन्, ‘उहाँको स्कुल छ । उहाँको सहकारी छ, तर मेरो डेढ करोड दिनुभएको छैन । फोनमा कुरा गर्दा चार दिनपछि आउनु भन्नुहुन्छ, त्यसपछि १५ दिनको समय दिएर कुराउनुहुन्छ । मेरो पैसा खाएको खायै बनाइदिनुभयो । यस्तो अवस्थामा मलाई पुर्याउनु भएको छ ।’ तर उक्त आरोप अवास्तविक, झूठो, फरेवपूर्ण व्यहोराको भएकाले सार्वजनिक गालीबेइज्जती भएको खड्काको दाबी छ ।

उक्त कार्यक्रममा विष्टले खड्कालाइं शतप्रतिशत ठग भएको ठोकुवा गरेका छन् भने धमलालेसमेत विष्टकै बोलीमा लोली मिलाएको पनि फिरादपत्रमा उल्लेख छ । खड्कामाथि काम वापतको रकम निदएको, मिडियाको पैसा तिर्न बाँकी रहेको आरोप छ । आरोपीले खड्काको कारण आफू पीडित भएको बताएका छन् । विष्टले लगाएको आरोपमा भनिएको छ, ‘तीन वर्षदेखि चिनजान भएका व्यक्तिले मलाई ठूलो पीडा गराउनुभएको छ । मलाई रोडमा ल्याउनुभयो । उहाँको कारणले मलाई यस्तो अवस्थामा पुर्याउनुभयो । मैले काम गरेको पैसा समेत दिनुभएको छैन ।’

कार्यक्रम प्रस्तोता धमलासँगै आगन्तुक विष्टले आफूलाई ठगको उपाधी दिएर गाली बेइज्जती गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ समेतका आधारमा हदैसम्म सजाय गरिपाउन समेत खड्काले माग गरेका छन् । समाचारको विश्वसनीयतामा प्रश्न उठिरहेको सन्दर्भमा अदालतमा पुगेको धमला विरुद्धको मुद्दाले तथ्यगत पुष्ट्याईंका सम्बन्धमा विशेष अर्थ राख्ने अधिवक्ता लुईंटेलको तर्क छ ।