सरकारसँग हात थापेर नबसौं, आफैँ अघि बढौं: अरुणकुमार सर्राफ (भिडियो)

अरुण सर्राफको विचारोत्तेजक मन्तव्य– पर्यटनका लागि हामीसँग प्रकृति र संस्कृतिको वरदान छ, हात थापेर नबसौँ नेपालमा याक एन्ड यती र ह्यात रिजेन्सीलगायतका होटल खोलेर नेपालमा पर्यटन व्यवस्था तथा अतिथि सत्कारको क्षेत्रमा पायोनियर बन्न पुगेको परिवार हो, सर्राफ परिवार । राधेश्याम सर्राफले झण्डै ७५ वर्षअघि बसालेको जगमा उनका छोरा अरुण सर्राफले नेपालको पर्यटन उद्योगमा राष्ट्रले नै गर्व गर्नलायक छवि निर्माण गरेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै नेपालको स्वागत सत्कार क्षमतालाई उनले नयाँ उचाइमा टेकाएका छन् । तिनै अरुण सर्राफले नेपालका नीति निर्मातादेखि अग्रणी पर्यटन उद्योगीहरूको बीचमा विचारोत्तेजक मन्तव्य दिए । 
जसको महत्त्वपूर्ण अंश यसप्रकार छ– 

हामी नेपाल र नेपालीलाई आमा पृथ्वीले साँच्चिकै वरदान दिएको छ । इतिहासले पनि हामीलाई राम्रो विरासत दिएको छ । प्रकृति र संस्कृतिले भरिपूर्ण छौँ । यी हिमालहरू, हरिया वनहरू प्रकृतिबाट पायौँ । हाम्रा पुर्खाहरुबाट बौद्धनाथ पायौँ, पशुपतिनाथ पायौँ । कयौँ मन्दिर र दरबारहरु पायौँ । कला र वास्तुकला पायौँ । कयौँ परम्परा पायौँ । विश्वभरका लागि शान्तिको ज्योति हामीले पायौँ । बुद्ध र हिन्दु धर्मको जुन परम्परा पायौँ, यो साँच्चिकै हामीले पाएको वरदान हो । 

सन् १९५० देखि हामी नेपालको पर्यटनको अंग बनेका छौँ । यो यात्रा साँच्चिकै उल्लेखनीय छ, आफ्नो लागि, नेपाल आमाको लागि र यहाँका सबै जनताका लागि । हो, हामीले गर्नुपर्ने धेरै छन् । सुधार्नुपर्ने धेरै छन् । यसबारे पर्याप्त चर्चा पनि गरिसकेका छौँ । धेरै मञ्चमा पर्याप्त बहस पनि भइसकेका छन् । २० वर्षअघि पनि हामी यही कुरा गर्थ्यौँ । आज आएर पनि यही गर्छौँ । यसबाट हामी बाहिर निस्किन सकेका छैनौँ, माथि उठ्न सकेका छैनौँ किन होला ? त्यो हामीले आफै मनन गर्नुपर्ने छ । आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । 

मलाई लाग्छ, हामीले गर्नुपर्ने काम गरेनौँ । सबैले शिकायत मात्र गर्यौँ । उन्मुक्ति मात्र खोज्यौँ । पन्छिन मात्र चाह्यौँ । सही सूचना र सन्देश दियौँ कि दिएनौँ ? आन्तरिक र बाह्य रुपमा सही ढंगले प्रचार गर्न सक्यौँ कि सकेनौँ ? किनभने, पर्यटनमा प्रचार महत्त्वपूर्ण औजार हो ।

हामी पर्यटन क्षेत्रले सरकारसँग मागेर वा हात थापेर मात्र बस्नुहुँदैन, नबसौँ । आफैले पहलकदमी लिएर अघि बढौँ । म तीनवटा कुरालाई विशेष जोड दिन चाहन्छु ।

एक, गुणस्तरीय पर्यटन । यो कुरा ५० वर्षदेखि उठिरहेको कुरा हो । म अमेरिकाबाट पढेर आएर नेपाल फर्किएर काम गर्न थालेको हुँ । अहिले आधा भारत र आधा नेपाल बस्छु । नेपाल राम्रोसँग बुझेको छु जस्तो लाग्छ । ह्यात रिजेन्सी होटल खोलेको सन् २००० मा हो । २५ वर्ष भयो । त्यसबेलामा हाम्रो प्रत्येक कोठाको दर १२० डलर थियो । नेपाली रुपैयाँ ८ हजार ५ सय हुन्छ । आज यो दर ११० डलर छ । अहिले १० डलर घटेको छ । नेपाली रुपैयाँमा हिसाब गर्दा बढेर १४ हजार ७०० पुगेको छ । यसले हाम्रो होटलको मात्र यात्रा दर्शाउँदैन, नेपालकै यात्रालाई दर्शाउँछ । 
हामीले हाम्रो क्षमता किन हासिल गर्न सकिरहेका छैनौँ ? अर्को तथ्यांक हेरौँ । 

२०१९ मा नेपालमा पर्यटक आगमन १२ लाख थियो । त्यही वर्ष भारतबाट घुम्न निस्केका पर्यटक २ करोड ७० लाख थिए । त्यसमध्ये थाइल्यान्डले पायो, १७ लाख । सिंगापुरले १६ लाख पायो । दुबईले ६३ लाख भारतीय पर्यटक पायो । हामीले कति पायौँ त ? २ लाख ७० हजार मात्र ।
अर्को तथ्य हेरौँ ।
हामी भन्छौँ, गुणस्तरीय पर्यटक । 

आज भारतमा मसुरी वा हृषीकेष जाँदा औसत पाँचतारे होटलको शुल्क छ, भारु २५ हजार । नेपालमा उच्चतम शुल्क १२ हजार भारु पनि छैन । यो भनेको आधा समेत होइन । 

यसको कारण के हो ? यो सोचौँ त एकपटक । 

दोस्रो कुरा, नेपालको पर्यटनको केक के हो त ? यहाँ अनावश्यक प्रतिस्पर्धा भइरहेको छ । त्यही कारण मूल्यदर बढ्न सकेको छैन । पर्यटन आगमन बढेको छैन । फ्रिज भएर बसेको छ । यसका अनेक कारण होलान् । एयरपोर्ट होला । भिसा नियम होलान् । यसका अनेक कारण होलान् । तर, हाम्रो बाह्य सञ्चार लगभग शून्यप्रायः छ । 

नेपाल पर्यटन बोर्डलाई हेपेको होइन । तर म एउटा सन्दर्भ राख्न चाहन्छु । गत वर्ष बोर्डको बजेट थियो, २ अर्ब रुपैयाँ । यसमध्ये खर्च कति भयो त ? अरु खर्च छाडौँ । बजारीकरणमा जम्मा ५ देखि ६ करोड छ । यस तथ्यांकले हाम्रो पर्यटन प्रवर्धनको अवस्था के छ भन्ने छर्लंग हुन्छ । 
प्रशासनमा बाहेक अरु खर्च खासै के छ ? पूर्वाधारमा कति खर्च भयो ? के यतिले नै हाम्रो पर्यटन प्रवर्धन हुन्छ ? 

एउटा मन्दिरमा गएर शौचालय बनाइदिएको तथ्य दिएर यहाँ पर्यटन बोर्डले काम देखाइरहेको होला । तर यसमा म असहमति राख्छु । यो काम त महा (नगरपालिका) को काम हो । बोर्डले गर्नुपर्ने काम प्रवर्धन हो । सही सन्देशको सम्प्रेषण हो । 

पर्यटन बोर्डको बजेट सरकारको लगानी होइन । यो त प्रत्येक अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली र विदेशीबाट एक हजारका दरले उठाइएको रकम हो । १९९८ मा यो बोर्ड गठन गरिएको हो र यसको मूल उद्देश्य नै प्रवर्धन हो । त्यतिखेर पर्यटन विभाग नै खारेज गरिएको थियो । पर्यटन आगमन बढाउनु यसको मुख्य उद्देश्य थियो ।

सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो गठन भएको थियो । निजी क्षेत्रको उल्लेख्य उपस्थिति थियो । तर, जब मन्त्रीबाट मनोनयन हुनेमा यसका नियुक्तिहरु सीमित भए, अनि बोर्डको रुपरेखा नै परिवर्तन भयो । यस वर्ष त बजेट नै बनेको छैन किनभने यहाँको सीईओ को बन्ने भन्ने विवादले नै धेरै समय खाइदियो ।

मसँग यहाँ जवाफ धेरै छैनन् । केवल प्रश्न छन् । उत्तर खोज्नुपर्ने प्रश्न । गत वर्ष यस बोर्डले जति बजेट खर्च गर्न सकेन, त्यसमा सरकारले कर लगाइदियो । किनभने, यो बोर्डको आम्दानी हो भन्ने अर्थ लगाएर । 

पर्यटन बोर्डले सार्वजनिक खरिद ऐनअन्तर्गत बस्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वमार्फत हाम्रा सन्देश प्रवाह गर्न खोज्यौँ भने कसरी प्रतिस्पर्धा गराउने ? अभिताभ वच्चनसँग कसलाई प्रतिस्पर्धा गराउने ? कुन दरमा गराउने ? खरिद ऐनले सबैभन्दा सस्तोलाई खरिद गर भन्छ । यसबाट कसरी काम हुन्छ ? यसको मूल्य पर्यटन क्षेत्रले चुकाउनुपरेको छ । ट्याक्सी ड्राइभरदेखि चिया पसलको समेत आम्दानी गुमेको छ । त्यसैले हामीले सन्देश प्रवाह र बजारीकरणमा केन्द्रित भएर विशेष काम गर्नैपर्छ । पर्यटन बोर्डबाहेक यो काम अरु कसैले गर्न सक्दैन । 

तेस्रो कुरा, यहाँ पर्यटनको विशाल सम्भावना र अवसरहरू छन् । प्रकृतिले साथ दिएको छ । प्रकृतिमैत्री भएर हामीले दिगो पर्यटनको विकास गर्न सक्छौँ । यसको मार्केट लिडर नेपाल हुन सक्छ । माता पृथ्वीले नेपाललाई दिएको वरदान नै हो यो । यसको फाइदा उठाउन सक्नुपर्छ । नयाँ पुस्ता यसमा अगाडि आउनुपर्छ ।