बेपत्ता ममता काफ्ले प्रकरण : ममता अझै जीवितै रहेको नरेश भट्टका वकिलकाे दाबी

अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्ले अझै जीवितै रहेको श्रीमान् नरेश भट्टका वकिलले दाबी गरेका छन् । नरेशका वकिल बेन अब्राहमले अदालतमा यस्तो दाबी गरेका हुन् ।

वासिङ्टन पोस्टकाअनुसार उनले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको र ममता आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरे । उनले यसो भन्दा अदालतमा उपस्थितहरु हाँसेका थिए । ममतामाथि नरेशले कुनै हानि नगरेको अब्राहमको दाबी छ ।

फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । अहिले नरेशविरुद्ध शरीर लुकाएको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।

अब्राहमले अभियोजकहरूले अगस्ट २ मा मनसास पार्कमा पुलिसद्वारा कल्याणकारी जाँचको क्रममा नरेशको श्रीमती बेपत्ता भएकोमा उनको प्रारम्भिक प्रतिक्रियालाई नै गलत व्याख्या गरिएको बताए ।

भट्टलाई दोषी ठहराउन पर्याप्त प्रमाण नभएको उनको दाबी छ । उनले मुद्दा टुंगो लगाउन ढिलाई नगर्नसमेत आग्रह गरे ।नरेशका वकिलको दाबी सुनेर विना खड्काले आफूलाई आक्रोशित बनाएको बताइन् । उनले भनिन्, ‘म नरेशलाई हेरिरहेको थिएँ, उनी जीवित थिइन्, लुकिरहेकी थिइन्, आफ्नी श्रीमतीप्रति किन अलिकति पनि उसको आँशु आउँदैन ? किन ऊ केही बोलिरहेको छैन ?’

ममताका साथीहरुले आफ्नी छोरीको पहिलो जन्मदिनमा ममताको कुनै सन्देश नआएकाले पनि उनी जीवित नरहेको बताउने गरेका छन् ।