नेपालमा रेल कुद्न अझै डेढ वर्ष लाग्ने

रेलको सपना आजको होइन। गीत, संगीतमै सही नेपालीले दसकौंदेखि रेलको सपना देख्न थालेका हुन्। त्यसलाई राजनीतिक नेतृत्वले सम्बोधन गर्ने ध्येयचाहिँ दसकअघि मात्रै राखेको छ।

खासमा प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा रेल कुदाउन कुदिरहेका नेता हुन्। उनको सपना आफ्नै कार्यकालमा साकार पार्ने पनि हो। यसपालि गरी तेस्रोपटक प्रधानमन्त्री भएका उनले अघिल्लो कार्यकालमै रेलको सपनामात्रै देखाएनन्, त्यसैका लागि प्रक्रिया पनि थाले।

तर, रेलमार्ग निर्माणको गति भने कछुवाकै चालमा छ। देशको प्रमुख कार्यकारीले नै देखेको सपना साकार पार्न पनि यतिका कठिन किन ? किन कि रेलमा सरकारी संयन्त्रहरूको झेल छ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण १५ वर्षअघि सुरु भएको हो। तर प्रगति नगन्य छ। बर्दिवासबाट निजगढसम्मको ६५ किलोमिटरमा मात्रै काम भएको छ। पूर्व–पश्चिम रेलमार्गको लम्बाई भने ९२५ किलोमिटर हो। त्यही ६५ किमि ७० पुर्‍याउने हो भनेमात्रै समेत भारतको जयनगरसम्म रेल कुदाउन सकिन्छ। त्यत्ति काम पनि हुन सकेको छैन।

विश्वका थुप्रै देशमा बुलेट रेल कुद्छन्। एउटा सहरको मान्छे अर्काे सहरमा सजिलै र छिटै गएर काम फत्ते गरेर वा जागिर खाएर घर फर्किन्छ। तर, नेपालमा भने नागरिकको जीवन यात्राकै आधा सकिन्छ। रेलमार्ग हुँदो हो त ढुवानीको खर्च पनि २५ प्रतिशतले कम हुन्थ्यो। तर बिडम्बना रेल एक सपनामात्रै भएको छ।