प्रमुख एसपीकै निगरानीबाट नेपाल भारत सीमा क्षेत्रमा खुलम खुला तस्करी

काठमाडौँ, १ असोजः कैलाली जिल्लाको एक सय पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रका १९ स्थानमा सशस्त्र प्रहरी युनिट प्रहरी कार्यरत रहेको भए पनि केही यूनिटहरूको सहयोगमा खुलम खुला तस्करी हुन थालेको सूचना प्राप्त भएको छ ।

जिल्लाको फूलबारी, भजनी र खक्रौला, कैलारी गाउँपालिका ७ भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर, भजनी नगरपालिका ७ हिक्मतपुर र टीकापुर नगरपालिका ८ श्रीलंकाटापुका बीओपीबाट तस्करी हुने गरेको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका कैलाली प्रमुख एसपी दलबहादुर पाण्डेकै निगरानीबाट ती क्षेत्रमा तस्करी हुने गरेको स्रोतको दाबी छ । सशस्त्र प्रहरीले भन्सार क्षेत्र मात्र होइन, सीमा क्षेत्रबाट तस्करी न्यूनीकरण गर्न आफ्ना मातहतलाई निर्देशन दिइरहेका बेला पाण्डेले भने आइजीपीको भनाइलाई उल्टो सावित गरेर तस्करीका लागि सीमा नाकाहरू खुला गरेको स्रोतको दाबी छ ।

कैलाली भन्सार नाकामा रहेको बोर्डर आउट फोर्स (विओपी)लाई गुल्म बनाइएको थियो । नेपाल सरकार गृह मन्त्रालयको २०७५ जेष्ठ २७ गतेको निर्णय अनुसार सशस्त्र प्रहरीको संरचनामा फेरबदल गरिएको थियो । प्रहरी निरीक्षकको कमाण्डमा रहने गरी ५५ जनाको दरबन्दी रहेकोे विओपीलाई १६० जना प्रहरी नायब उपरीक्षकको कमाण्डमा रहने गरी गुल्म बनाइएको थियो ।

कैलालीस्थित ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालयमा विष्णुप्रसाद भट्ट पनि बसेर काठमाडौ आएका हुन् । त्यसैगरी कमल तिउसिना र दीपेन्द्र कुँवरले पनि कमाण्ड गरेर काठमाडौ आएका थिए । अहिले त्यो ठाउँमा पाण्डेले कमाण्ड गरिरहेका छन् । पाण्डे कमाण्ड सम्हालेको केही दिनमा धनगढीबाट ८ लाख बढी मूल्यको कपडा बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी क्षेत्रबाट ८ लाख ७४ हजार मुल्यको अवैध कपडा बरामद गरेपछि अहिलेसम्म शून्य जस्तै रहेको छ ।

यसैगरी सशस्त्र प्रहरीको मकवानपुरमा रहेको गणका ज्ञान भूर्तेल प्रहरी मुख्यालयको निगरानीमा परेका छन् । बारा, पर्साबाट आउने सामानमा निगरानी नगरी काठमाडाैँ पठाउने गरेको र सेटिङमा काम गरेकाले उनी निगरानीमा परेको स्रोतको दाबी छ । ‘भूर्तेल आएपछि मकवानपुरबाट बिदा जाने सशस्त्र प्रहरीको संख्यामा पनि वृद्धि भएको छ’, स्रोतले भन्यो ।