सहकारी ठगीमा रवि दोषी, अब धनराज र ऋषिकेशमाथि पनि छानबिन गर

अनेक अड्कलबाजीकाबीच सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा  मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछानेलाई दोषी करार गरेको छ।  

सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको समितिले रास्वपा सभापतिसमेत रहेका रबि, अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीमाथि कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ। समितिको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन। खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि।को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’

समितिले सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु राई, थानबहादुर बुढा मगर (सूर्यदर्शन पोखरा), दिनेश रोक्का (सहारा चितवन), सागर केसी (सुप्रिम, बुटवल) तस्वीरण खातुन (सानो पाइला), बिरगञ्ज र भूपेन्द्र राई (स्वर्णलक्ष्मी, काठमाडौं)लाई शिघ्र खोजी गरी कानूनी दायरामा ल्याउन सरकारलाई भनेको छ।

रबि सहकारी ठगीमा अनुसन्धानको घेरामा रहेकै बेला उपप्रधान एवं गृहमन्त्री बनेका थिए। उनी आफूले सहकारीको एक सुको पनि नखाएको दाबी गर्थे। तर, रास्वपा सांसदसमेत सहभागी रहेको संसदीय समितिले नै उनी सहकारी ठगीमा संललग्न रहेको निष्कर्ष निकालेपछि उनी बिखलबन्दमा परेका छन्। उनीमाथि सरकारले कस्तो किमिसको छानबिन गर्छ, त्यसले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

 रविभन्दा अझ ठूलो प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल मुछिएका छन्। तीन महिना अघि गठन भएको संसदीय छानबिन समितिले यी दुई विषयमा छानबिन गर्न त पाएन तर सरकार, संसदले नजरअन्दाज गर्न मिल्दैन। गुरुङविरुद्ध त समितिमै उजुरी परेको थियो। गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको छ।  ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो। हुन् त धनराजले ज्योतीसँग ०७६ मै सम्बन्ध विच्छेद गरेको दाबी गरेका छन्। तर, ०७७ मा सहकारीबाट ऋण लिँदा श्रीमतीमा ज्योतीको नाम उल्लेख गरिएको छ भने एक महिना अघिसम्म उनले ऋण तिरेका छन्।

त्यति मात्र होइन ०७९ को निर्वाचनमा श्रीमतीको नाम उल्लेख छ। डिभोर्स भएको भनिएको तीन वर्षपछि पनि उनले श्रीमतीको नाम उल्लेख गरेको पाइएको हो । धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचित सांसद हुन्, र कांग्रेसको उपसभापति पनि हुन्।  घरभित्रको सहकारी ठगी लुकाएर धनराज रविविरुद्ध पहिलो घेरमा उत्रिएका थिए। 

एमाले सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती पनि करीब १४ करोड रुपैयाँ अपचलन भएको सहकारी ठगीमा मुछिएकी छन्। विराटनगरको उमागौरी सहकारीबाट भएको करोडौं ठगीमा पत्नी मुछिएपछि अब पोखरेलमाथि छानबिनको माग उठेको छ किनकी मोरङ(२ बाट निर्वाचित सांसद पोखरेल एमाले सांसद हुन्। उनकी पत्नी अञ्जला कोइराला २०७८ सम्म सहकारीको सञ्चालक थिइन्। यही बेला सहकारी ठगी भएको देखिन्छ। सञ्चालक समितिमा पत्नीलाई राखेर पोखरेलले उनी मार्फत सहकारीमा कारोबार गरेको हुन सक्ने आशंका गरिएको छ।