डली चायवाला नेपाल आइपुगे

 डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् ।

दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेका हुन् । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।

त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।

डली चायवाला मंगलबार बेलुका काठमाडौं आउनेछन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् । हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्नेछन् ।