दिल्लीका मुख्यमन्त्री केजरीवालले भाेलि राजीनामा दिने

दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) विनय सक्सेनाले मुख्यमन्त्री अरविन्द केजरीवाललाई मंगलबार दिउँसो ४:३० बजे भेट्ने समय दिएका छन्। यस समयमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै नयाँ नाम हस्तान्तरण गर्नेछन्।

यसअघि सोमबार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाले घरमै पुगेर केजरीवालसँग भेट गरेका थिए। स्रोतका अनुसार दुई नेताबीच आगामी मुख्यमन्त्रीको विषयमा छलफल भएको थियो।

आम आदमी पार्टी ‘आप’को राजनीतिक मामिला समिति (पीएसी) को बैठक पनि आज साँझ बसेको छ। यसमा नयाँ मुख्यमन्त्रीसहित पार्टीको भावी रणनीतिबारे छलफल भएको थियो।

दिल्लीका मन्त्री सौरभ भारद्वाजले भने, ‘पार्टीका संयोजक अरविन्द केजरीवालले राजनीतिक मामिला समिति (पीएसी) को बैठक बोलाएका थिए। जसमा सरकारका सबै वरिष्ठ नेता र मन्त्रीहरू सम्मिलित थिए। केजरीवालले नयाँ मुख्यमन्त्रीका विषयमा वान टु वान छलफल गरेका थिए। भोलि मंगलबार दोस्रो चरणको बैठक हुनेछ, जसमा विधायकहरूसँग छलफल हुनेछ।’

यही सेप्टेम्बर १३ मा मदिरा नीति मुद्दामा सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि केजरीवाल जेलमुक्त भएका थिए।

त्यसको २ दिनपछि सेप्टेम्बर १५ मा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।केजरीवालको राजीनामापछि आतिशी, कैलाश गहलोत, गोपाल राई र सुनिता केजरीवालमध्ये कुनै एक दिल्लीको मुख्यमन्त्री बन्न सक्ने चर्चा छ।