बतासे प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिल अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा, तथ्यहीन र बतासे कुराको प्रचारबाजीमा नलाग्न युट्युबहरूलाई चेतावनी दिनुभएको छ ।

अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गर्नुभयो । सोमबार काउन्सिलमा आयोजित एक कार्यक्रममा उहाँले युट्युब र अनलाइन सञ्चार माध्यम हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने समेत बताउनुभयो ।

सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ । हावा कुराको पछि लाग्नु, अफवाह र भ्रम फैलाउनु दुरुपयोग हो, अध्यक्ष बस्नेतले भन्नुभयो ।

मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ । काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो । 
 

युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।
प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्पे्रषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारवाही गर्दै आएको छ ।