एसियाली कराँतेमा सहभागी हुने नेपाली टोलीको बिदाइ

 एसियाली सिनियर कराँतेको २० औं संस्करणमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ। 

हाङझावमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बिदाइ गरे। सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो।

प्रतियोगिता सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ। यही प्रतियोगितामा ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ।

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन्। प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ। पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।