पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

काठमाडौँ, ३१ भदौ : प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि करोडौँ डलरको सहयोग घोषणा गर्नुभएको छ । मुलुकमा मुसलधारे वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियाका धेरै क्षेत्र तीव्र हावा र असामान्य रूपमा मुसलधारे वर्षाले प्रभावित भएका छन् । 

“अहिले हामीले बाढीबाट प्रभावित स्थान र मानिसहरूका लागि एक अर्ब ज्लाटी (२६ करोड डलर) को कोष सुनिश्चित गरेका छौँ”, प्रधानमन्त्री टस्कले पत्रकारहरूसँग भन्नुभयो, “आजदेखि बाढीबाट प्रभावित जो कोही र बाढी, भत्किएका भवनहरू, बाढीले बगाएका ग्यारेज, हराएका कारहरू, बाढीसम्बद्ध क्षतिका लागि सजिलै पैसा दाबी गर्न सक्नेछन् ।”

प्रहरीले सोमबार अद्यावधिक गरेको आँकडाअनुसार पोल्यान्डमा आँधीबाट चार जनाको मृत्यु भएको छ । “प्रकोपबाट प्रभावित क्षेत्रमा चार जनाको मृत्यु भएको छ”, पोलिश प्रहरी प्रवक्ता कटारजिना नोभाकले भन्नुभयो । यद्यपि उहाँले मृत्युको सही कारण अझै स्पष्ट गर्न आवश्यक रहेको बताउनुभयो । 

बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपमा मुसलधारे वर्षा र बाढी आउँदा १४ जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । साथै लाखौँ मानिसलाई उनीहरूको घरबाट स्थानान्तरण गरिएको छ ।