बलिउड अभिनेत्री अदिति राव हैदरीले अभिनेता सिद्धार्थसँग गरिन् दोस्रो बिबाह

बलिउड अभिनेत्री अदिति राव हैदरीले अभिनेता सिद्धार्थसँग बिहे गरेकी छिन् । एउटा निजी समारोहमा साधारण तरिकाले यी दुईको बिहे भएको हो ।

अभिनेता अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्नो बिहेको फोटो हालेका थिए । फोटोमा अभिनेत्री सुनौलो रंगको लेहेंगामा निकै राम्री देखिएकी थिइन् ।

यी दुईले वानापार्थीको चार सय वर्ष पुरानो मन्दिरमा बिहे गरेका छन् । बिहेमा बेहुला बेहुलीको परिवारका सदस्य र नजिकका आफन्तहरू मात्रै सहभागी भएका थिए । बिहेको तस्बिरमा अभिनेता अभिनेत्री निकै रोमान्टिक र मक्ख देखिएका थिए ।

बिहे भइसकेपछि मात्रै अदिति र सिद्धार्थले बिहेको जानकारी दिएका थिए । बिहे अघि उनीहरूको बिहेको सुइँको कसैले पाएका थिएनन् ।

अदिति र सिद्धार्थले यही वर्ष मार्चमा टिकाटालो गरेका थिए । टिकाटालो अघि दुबैले आफ्नो सम्बन्धलाई निकै गोप्य राखेका थिए । अदितिको यो दोस्रो बिहे हो । अभिनेत्रीले यसअघि अभिनेता सत्यदीप मिश्रासँग बिहे गरेकी थिइन् ।

उनको यो बिहे सन् २००९ दखि सन् २०१३ सम्म चल्यो । अदितिको पहिलो पतिले दिग्गज अभिनेत्री नीना गुप्ताकी छोरी तथा फेशन डिजाइनर मसाबा गुप्तासँग बिहे गरेका छन् ।