पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ।

एन्फाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञापन सार्वजनिक गर्दै आवेदनको लागि आवहान गरेको हो।

एन्फाले सार्वजनिक गरेको विज्ञापन अनुसार आवेदकले मुख्य प्रशिक्षकमा आफ्नो दावेदारी पेश गर्न एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ। त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यावसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने मापदण्ड समेत तोकेको छ।

आवेदकले विज्ञापन प्रकाशन मितिबाट १५ दिन अर्थात ३० सेप्टेम्बरसम्म अनलाइनमार्फत आवेदन भर्न सक्नेछन्।

गत भाद्र १३ गते बसेको आठौं एन्फा कार्यसमिति बैठकले निवर्तमान प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने र नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको थियो।