एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता सार्वजनिक गर्ने

 राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले असोज पहिलो साता नतिजा निकाल्ने गरी तयारी भइरहेको जानकारी दिए । गएको साउन २३ देखि ३१ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ननग्रेडेड भएका सबै विद्यार्थी सहभागी थिए । ०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना ननग्रेडेड भएका थिए ।

तीमध्ये एक विषयमा मात्र ६७ हजार ७९६ विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विषयमा ननग्रेडेड भएका विद्यार्थी ४८ हजार ३८ थिए । एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा ननग्रेडेड भएका थिए ।