इंग्लिश प्रिमियर लिग : आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले हरायाे

आइतबार राति सम्पन्न इंग्लिश प्रिमियर लिग (ईपीएल) मा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको छ। यो जित आर्सनलको सिजनको तेस्रो जित हो । जसले क्लबलाई अंक तालिकामा महत्वपूर्ण स्थानमा उकालेको छ।

खेलको ६४औँ मिनेटमा आर्सनलका गाब्रियल मागलहाएजले बकायो साकाको पासमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो। मागलहाएजको गोलले आर्सनललाई तीन अंक दिलायो र क्लबलाई लिग तालिकामा दोस्रो स्थानमा पुर्‍यायो।

यो जितसँगै आर्सनलले चार खेलमा १० अंक जम्मा गरेको छ । अर्कोतर्फ, टोटनह्यामको यो सिजनमा यो दोस्रो हार हो। टोटनह्यामले चार खेलमा मात्र ४ अंक संकलन गरेको छ र हालको लिग तालिकामा १३औं स्थानमा झरेको छ।

यस खेलमा आर्सनलको रक्षा र मिडफिल्डले महत्वपूर्ण भूमिका खेल्यो, जसले टोटनह्यामको आक्रमणलाई निरुत्साहित गर्यो। आर्सनलको फिनिशिङको कमी भएको भए तापनि, मागलहाएजको एकमात्र गोलले क्लबलाई आवश्यक जीत दिलायो।