धनराज सहकारी ठगीमा डामिएपछि रुझेको बिरालोझैँ बन्यो कांग्रेस, गगन थापाहरू कहाँ गए ?

धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेस एकाएक रुझेको बिरालोझैँ बनेको छ। यसअघि हरेक दिन सहकारी ठगी प्रकरणमा संसददेखि सार्वजनिक कार्यक्रममा कांग्रेस नेताहरु एकामुख हुुन्थ्ये। तर, ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलनमा पूर्वकानुनमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति गुरुङको नाम आएपछि कांग्रेसको बोली बन्द भएको हो। महामन्त्री गगन थापा र  विश्वप्रकाश शर्माको बोली पनि सुनिन छाडेको छ। 

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिँदा सबैभन्दा बढी कुर्लेनेमा कांग्रेस महामन्त्री थापा थिए। कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेपछि साढे तीन महिना अघि संसदीय छानबिन समिति गठन भएको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले प्रतिवेदन तयार गरिसकेको छ।

तर, यही बेला कांग्रेस उपसभापति गुरुङ र सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेल सहकारी प्रकरणमा मुछिएका छन्। यसले सत्तारुढ दल एमाले र कांग्रेसको मोरल डाउन गरेको छ। हुन् त तत्काल सार्वजनिक प्रमाणअनुसार पोखरेल आफैँ सहकारीमा जोडिएका देखिँदैनन्। उनकी पत्नी सहकारी सञ्चालक थिइन्। तर, प्रमाणहरु बाहिरिने क्रममा उनको संलग्नता हुने सम्भावना उत्तिकै छ।

तर, गुरुङ भने स्वतः सहकारी ठगीमा जोडिएका छन्। सुरुमा उनले आफूले श्रीमती ज्योति गुरुङसँग ०७६ मै सम्बन्ध विच्छेद गरिसकेको भन्दै मिडियामा ठूलोठूलो स्वरले बोलेका थिए। सहकारीका तत्कालीन महाप्रबन्धक रहेकी ज्योतीसँग सम्बन्ध विच्छेद गरेको दाबी गरेपनि उनले हालसम्म पनि सहकारीको ऋण तिरिरहेको पाइएको छ। र, ज्योतीलाई ०७७ सम्म श्रीमतीको नाममा हकवाला राखेका छन्।जसकारण अब गुरुङ जोगिने सम्भावना छैन। यही देखेर होला कांग्रेस नेताहरुले अहिले सहकारी प्रकरणमा बोल्न सकेका छैनन्।

धनराज जोडिएको सहकारी प्रकरणमो अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि अनुसन्धान थालेको छ। सुरुमा गुरुङलाई जोगाउन खोजिएको थियो। तर, व्यापक आलोचना भएपछि प्रहरीले अनुसन्धान थालेको हो।

बागमती प्रदेश, सहकारी रजिष्ट्रारको कार्यालय हेटौडाबाट आएको पत्रका आधारमा जाहेरी दर्ता गरेर अनुसन्धानलाई अघि बढाएको सिआइबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए। सिआइबीले महाप्रबन्धक ज्योति गुरुङ र उनलाई सहयोग गर्ने पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध अनुसन्धान थालेको हो।  आन्तरिक छानबिनले रकम अपचलन देखिएको भन्दै सहकारीले दिएको उजुरीमा धनराजलाई समेत प्रतिवादी बनाउन माग गरेको थियो ।

तर रजिष्ट्रार कार्यालय धनराजको नाम काटेर बाँकीको नाम सिआइबीमा पठाएको थियो।धनराजले मितेरी सहकारी सहकारीबाट ऋण लिएका थिए। त्यसमध्ये ६८ लाख २६ हजार ९१४ रुपैयाँ एकैदिन तिरेका पाइएको छ। यसमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। १७ वैशाख २०८१ मा चार वटा चेकमार्फत १४ लाख रुपैयाँका दरले ५६ लाख र एउटामा भने १२ लाख २६ हजार ९१४ रुपैयाँ रकम जम्मा भएको देखिएको छ। धनराजको तर्फबाट भनेर अरु नै व्यक्तिले एनएमबी बैंकको चेकमार्फत डिजोपिट गरेका थिए।