अभिनेता थलापति विजयले आफ्नो करिअरको अन्तिम चलचित्रको घोषणा

तमिल सिनेमाका सुपरस्टार चर्चित अभिनेता थलापति विजयले आफ्नो करिअरको अन्तिम चलचित्रको घोषणा गरेका छन्।

तीन दशक लामो करिअरलाई विट मार्ने योजना बनाएका उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै करिअरको अन्तिम चलचित्र ‘थालापति ६९’ निर्माण घोषणा गरेका हुन् ।चलचित्रपछि थलापतिले अभिनय करिअरलाई बिदा गर्दै पूर्णकालीन राजनीतिमा होमिने योजना बनाएका छन्। उनले हालै तमिझागा वेत्री कझगम नामको राजनीतिक दलको घोषणा गरेका छन्, जुन भारतीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

विजयले सन् २०२६ को तमिलनाडु विधान सभा चुनावमा आफ्नो पार्टीले ठूलो उपस्थिति जनाउने लक्ष्य लिएका छन्।विजयले यो चलचित्रका लागि २७५ करोड भारुको पारिश्रमिक लिएको चर्चा छ, जुन भारतीय सिनेमामा एक ठूलो पारिश्रमिक मानिन्छ। ‘थलापति ६९’ को निर्देशन चर्चित निर्देशक एच. विनोथले गर्ने भएका छन्।

चलचित्रमा अभिनेत्रीमा पूजा हेगडे र भिलेनको भूमिकामा बबी देओललाई अनुबन्ध गरिएको छ।तमिल, तेलुगू र हिन्दी भाषामा निर्माण हुने यो ऐतिहासिक परियोजनाको सुरुवात गरिएको चलचित्रलाई सन् २०२५ को अक्टोबर, अर्थात् नेपाली पात्रोअनुसार २०८२ सालको असोजमा रिलिज हुने तय गरिएको छ।

विजयलाई तमिलनाडुमा अभिनेता रजनीकान्तपछिको सबैभन्दा प्रभावशाली कलाकार मानिन्छ। २०२१ मा उनका प्रशंसकहरुले खोलेको पार्टीले तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो। अब विजय आफैं राजनीतिमा प्रवेश गर्न लागेकाले २०२६ को विधान सभा चुनावमा उनको पार्टीको ठूलो सफलता हुने अनुमान गरिएको छ।

थलापति विजयको पछिल्लो फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ पनि हाल प्रदर्शनरत छ, जसले ९ दिनमा विश्वभर ३५० करोडभन्दा बढी कमाई गरेको छ। ‘थलापति ६९’ विजयको अन्तिम चलचित्र हुने घोषणा भएसँगै यो चलचित्रलाई लिएर दर्शकहरुमा उत्साह र प्रतिक्षा थप बढेको छ।