गधालाई गाई बनाउन खोजेँ, मूर्ख म आफैँ भएँ : प्रचण्ड

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूर्ख बनाएको बताएका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले वामपन्थी एकताका लागि धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको बताएका हुन् ।

"खासगरी एमाले नेतृत्वको नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्वको अझ एमालेको प्रमुख नेताले यो संविधान कतिबेला च्यात्ने होला भन्ने बाहेक अरू भएको मैले बुझिनँ । मैले उहाँसँग मिलेर वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिमहरू उठाएँ, खतरा मोलेँ । तर, जति धोए पनि गधालाई गाई बनाउन सकिने थिएन । मूर्ख त मै भएँ," उनले भने 

उनले प्रतिक्रियावादी र अवसरवादीले माओवादी र जनताविरुद्ध षड्यन्त्र गरिरहेको पनि बताए । उनले अब आफू सरकारमा जान समीकरण बनाउने खेलमा नलाग्ने पनि बताए ।

"यो सरकार धेरै जाने स्थिति कतैबाट पनि छैन । तर, हामी समीकरण बनाउनेतिर लाग्दैनौँ । हामी जनतामै जान्छौँ । हामी यो खेलमा अब छैनौँ," उनले भने ।