नेपालमा आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’को प्रदर्शन

नेपालमा पहिलोपटक आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’को प्रदर्शन गरिएको छ । अस्कर सिनेमा कलेजबाट ब्याचलर पास गरेका विद्यार्थीले आइफोन १४ प्रो म्याक्सबाट खिचिएको चलचित्र शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको हो ।

सुन्धारास्थित सीडीसी सिनेमाज्मा प्रदर्शन गरिएको सिनेमा हेर्न निर्माण टिम, अस्कर कलेजका विद्यार्थीसहित अन्य सिनेमाकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । सिनेमा हेरेर हलबाट निस्केका अधिकांशले छायांकार प्रबीन लिम्बूको डीओपी र कलाकारको अभिनयको खुलेर तारिफ गरेका थिए ।

जेसन लोप्चनको लेखन तथा निर्देशनमा क्राइम जनरामा सिनेमा निर्माण भएको हो । सिनेमामा बाल्यकालदेखि मिल्ने तीनजना साथीको कथालाई देखाइएको छ ।

चलचित्रमा मीरा गुरूङ, मीन घलान, मीरा गुरुङ, अम्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिदेन श्रेष्ठले अभिनय गरेका छन् ।वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्ममा सह निर्मातामा उमेश खड्का छन् । प्रविन लिम्बूले सिनेमालाई खिचेका हुन् । सिनेमालाई छिट्टै नेपालमा सिनेमा घरमा रिलिज गरिने जनाइएको छ ।

हल पश्चात सिनेमा विश्वको चर्चित ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक र रोकु टिभीमा रिलिज हुने कर्न्फम भैसकेको दाबी निर्माण टिमको छ ।