थलापति विजयको करिअरको अन्तिम फिल्म थलापति ६९ को घोषणा

साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम फिल्म थलापति ६९ को घोषणा गरिएको छ । शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ । तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक लामो करिअरको अन्त्य गरेर राजनीतिमा सक्रिय हुने छन् ।

यस फिल्मका लागि उनले २७५ करोड भारु पारिश्रमिक लिएको भारतीय मिडियामा चर्चा रहेको छ । ‘थलापति ६९’को निर्देशन एच. विनोथले गर्नेछन् । विजयसँग उनको यो पहिलो सहकार्य हुनेछ । फिल्मको अभिनेत्रीमा पूजा हेगडे र भिलेनमा बबी देओलको चर्चा रहेको छ ।

यो फिल्म रिलिजपछि विजयले अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीति सुरु गर्दैछन् । उनले ६ महिना अगाडि आफू प्रमुख रहने गरी राजनीतिक दलको घोषणा गरेका थिए । 

तमिझागा वेत्री कझगम (तमिलनाडु विजय पार्टी) नाम राखिएको विजयको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सन् २०२६ को ‘विधान सभा’ मा उनको पार्टीले चुनाव लड्ने घोषणा गरिएको छ ।

विजय तमिलनाडु क्षेत्रमा अभिनेता रजनीकान्तपछिको प्रभावशाली अभिनेता मानिन्छन् । त्यस क्षेत्रमा उनको कुन हदसम्म प्रभाव छ भने सन् २०२१ मा उनको नाममा प्रशंसकहरूले खोलेको पार्टीले तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो ।

अब विजय आफैँ राजनीतिमा होमिएकाले उनको पार्टीले २०२६ को ‘विधान सभा’ चुनावमा ठूलो सिट जित्ने अनुमान गरिएको छ । उनको फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यतिबेला प्रदर्शनरत छ । फिल्मले ९ दिनमा विश्वभर ३५० करोडमाथिको कमाई गरिसकेको छ ।