अभिनेत्री नन्दिता केसी आमा बन्दैँ

काठमाडौ  ३०  भदौ : अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले जानकारीको साथमा श्रीमान् र आमा–बुबासँगको दुई तस्बिर समेत शेयर गरेकी छन् ।

उनले लगाएको टिसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ, श्रीमान् (अरविन्द्र कटवाल)ले उनको निधारमा चुम्बन गरेका छन् । प्रफुल्लित देखिएकी नन्दिताले प्रश्न वाचक चिह्न लेखिएको एउटा पेपर हातमा लिएकी छन् ।

उनले लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु । भगवान्को आशीर्वाद र माता–पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौँ ।’ उनको पोष्टमा धेरैले बधाई दिएका छन् । 

नन्दिताले गएको बर्षको फागुन १९ गते अरविन्द्रसँग विवाह गरेकी थिइन् । उनीहरू लामो समयदेखि अमेरिका बस्दै आएका छन् । नन्दिताले ‘हामी तीन भाइ’, ‘भगवान् सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत दुई दर्जन बढी फिल्म अभिनय गरेकी छन् ।