ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजदेखि सुरु हुँदैछ । 

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिंगो ठढ्याउने प्रक्रियालाई इन्द्रध्वजोत्थान भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका डठाउामा धुमधामका साथ इन्द्रजात्रा मनाउने चलन छ ।

यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १ गते परेको छ । इन्द्रजात्रामा राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ ।