एमाले नेता माझीसहित ९ जना जुवा खालबाट पक्राउ

नेकपा एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, मोरङ सुन्दरहरैँचा–१ का ५० वर्षीय जनक कुमार माझी, मोहत्तरीका ४५ वर्षीय महेश साह, मोरङ ग्रामथान गाउँपालिका–४ का आर्हलाल माझी, सुनसरी धरान–१५ का युवक राई, झापा दमक–१० का कतुवर्न नेम्वाङ, मोरङ लेटाङ–९ का लोकनाथ सापकोटा र मोरङ सुन्दरहरैँचा–३ का प्रताप राई छन्।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी  कार्कीले बताए। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।