कांग्रेसले कोशीमा देखायो जात्रा, किन अनसनमा बसे पूर्वमुख्यमन्त्री कार्की ?

कांग्रेस र एमालेबीच गठबन्धन भएको साढे दुई महिना भइसक्यो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको पनि दुई महिना पुग्न लागेको छ।तर, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ कांग्रेसले कोशी प्रदेशमा जात्रा देखाइरहेको छ।

कोशीमा एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री छन्। तत्कालीन सत्ता सहयात्री माओवादी सरकारबाट बाहिरिनुका साथै समर्थनसमेत फिर्ता लिइसकेको छ।तर, कांग्रेस अहिलेसम्म सरकारमा गएको छैन, जबकि बाँकी ६ प्रदेश मात्र होइन केन्द्र सरकारमा यी दुई दलबीच सहकार्य छ। दुबै दल सत्तामा छन्।

कांग्रेसले मन्त्रीको नाम पठाएको छैन नै पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता केदार कार्कीले बखेडा झिकेका छन्। गठबन्धनभित्रका असहमति राख्ने फोरम छन्, बैठकमा राख्न सकिन्छ। तर, उनी आफू मुख्यमन्त्री भएका बेलाका कार्यक्रम कटौती भएको भन्दै अनसनमा बसेको छन्। कार्कीले भूल्न नहुने कुरा के हो भने प्रदेशमा मात्र होइन केन्द्रमा पनि सरकार फेरिँदा सरकारका प्राथमिकता पनि फेरिन्छन्। कुनै बेला आफ्नै दल कांग्रेसले सहयोग नगर्दा पनि एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्की संस्थापन इतर समूहका नेता हुन्। उनी अहिले गठबन्धनलाई सहयोग पुर्याउने भन्दा पनि बखेडा झिकिरहेका छन्। कार्कीले मंगलबारबाट अनसन थालेका हुन्।

उनले सुरुमा निषेधित क्षेत्रमा अनशन थालेका थिए। तर, प्रहरीले धरपकड गरेपछि अनशन स्थल छाड्न बाध्य भएका थिए। प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो। लगत्तै उनले विराटनगरको देवकोटा चोकमा अनशन थालेका छन्। कार्कीले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा कार्यक्रम बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने, शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी मोरङ केशलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायतका जनप्रिय कार्यक्रम कटौती गरेको आरोप लगाएका छन्।

कोशीमा कांग्रेस सरकारमा जान नसक्नुको कारण पनि इतर समूहको बखेडाका कारण हो। कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा जान निर्देशन दिइसकेका छन्। तर, शेखर कोइराला र गगन थापा समूहका नेताहरुले भागवण्डामा चित्त बुझाएका छैनन्, त्यही भएर सरकारमा जान नसकेको हो। देउवाले संस्थापनपक्षबाट दुई जना मन्त्री बनाउने, नेता शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई एक, एक मन्त्री र एक राज्य मन्त्री दिने गरी भागबण्डा मिलाएका छन्। तर, मन्त्रीहरुको आकांक्षी धेरै भएकाले मन्त्री नेताहरुले मन्त्री छनोट गर्न भने सकिरहेका छैनन्।

मुख्यमन्त्री हिक्मत कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नथप्ने अडान लिइरहेका छन्। तत्कालीन गठबन्धनमा सहभागी माओवादीले छाडेका चार मन्त्रालय अहिले रिक्त छन्।