वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सहकारी ठगीबाट जोगिन् डिभोर्स गरेका धनराज ज्याेतिकाे ऋण तिर्दै, रविभन्दा ठूलो घोटाला

सहकारी घोटाला प्रकरणबाट जोगिन कांग्रेस उपसभापति एवं सांसद धनराज गुरूङले श्रीमती ज्योती गुरुङसँग सम्बन्ध विच्छेद (डिभोर्स) गरेको पाइएको छ। केही दिन अघि यो समाचार प्रकाशित हुँदा गुरुङले आफूले ०७६ मै सम्बन्ध विच्छेद गरिसकेको र आफूललाई कुनै जानकारी नरहेको बताएका थिए।  त्यति मात्र होइन उनले भनेका थिए, ‘साथै निज ज्योतीजी सँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजी सँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’तर, पूर्वकानुनमन्त्री रहेका गुरुङले ज्योतिको ऋण तिरिरहेको पाइएको छ।  यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने आधार देखिएको छ। 

https://barnanmedia.com/news/detail/193713/ 

खरिदार–सुब्बाले भरिए जिल्ला अदालत, अब सहसचिवबाट मात्र न्यायाधीश बनाऊ 

काठमाडौँ जिल्ला अदालत विभिन्न शक्तिकेन्द्रको निकट बसेर रिझाएवापत् न्यायाधीश पद पाउनेहरुको अखडा बन्न पुगेको छ । खरिदार, सुब्बा, शाखा अधिकृत छँदा प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुको सहयोगी वा इजलास अधिकृत बसेकाहरुको बाहुल्य यस अदालतमा देखिन्छ । यसरी शक्तिकेन्द्रको सहयोगी बनेर न्यायाधीशहरु बन्नेहरुसँग शक्तिशालीलाई रिझाउने खुबी त हुन्छ तर न्यायिक विवेक प्रयोग गरेर निर्णय दिने क्षमताको भने सर्वथा अभाव देखिएको छ । 

यसै पनि नोकरशाह मानसिकता न्यायिक निर्णयका लागि उपयोगी र सहयोगी मानिँदैन । नोकरशाह मानसिकताले जहिले पनि शक्तिको ओत खोज्छ । शक्तिशालीको आडमा मात्र काम गर्न चाहन्छ । आफै जोखिम लिन सक्दैन । मोलाहिजामा सबैभन्दा अगाडि हुन्छ । स्वतन्त्र विवेकले निर्णय गर्न उसलाई सधैँ सकस परिरहेको हुन्छ ।

https://barnanmedia.com/news/detail/193725/ 

न्यायालयमाथि राजनीति नगर, तत्काल प्रकाश राउतलाई सिफारिस गर

भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश स्वाभाविक उम्मेदवार हुन् । अहिलेसम्मको परम्परा र अभ्यास यही नै रही आएको छ । व्यक्तित्व, योग्यता, क्षमता कुनै पनि हिसाबले बहालवाला कुनै पनि न्यायाधीशभन्दा वरिष्ठतम् न्यायाधीश राउत कम छैनन् । तर, शुक्रबार राउतका विषयमा अनावश्यक विवाद झिकेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लम्ब्याइएको छ । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गते अवकाश हुने भएकाले न्याय परिषद्ले भदौ २० गते नै सर्वोच्च अदालतमा ३ वर्ष कार्यावधि पुगेका ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानमन्त्रीले तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर वरिष्ठतम् न्यायाधीश राउतलाई ढिलाइ सिफारिस गर्नुपर्ने हो ।

https://barnanmedia.com/news/detail/193759/ 

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

 प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गर्नुभयो ।

https://barnanmedia.com/news/detail/193820/ 

नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरू प्रवेश हुँदा समस्या सिर्जना भएको बताए । ‘नियमभित्र बसेका सहकारी डुबेका छैनन् । जो नियमभित्र बसेनन् वा बस्न जानेनन् तिनीहरूमा समस्या देखिएको छ । कुनै पनि सहकारी संस्थामा कसैले अनुचित ढङ्गले लाभ लिएको भए सरकारले कडाईका साथ नियमन गर्छ’, प्रधानमन्त्री ओलीले भने ।

नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउनूस् : प्रकाशशरण महत

पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।  नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवम् बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण रहेको दाबी गरे । कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,' उनले भने, 'उत्पादित सामग्री बजारसम्म पुर्याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ ।'

सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरि घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित

 नेपाल मोबाइल ब्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरि घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डका विरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो । महासंघले उठाएको मार्जिन बढाउनु पर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो। सो सहमतिमा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छैन।

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथ हेप्टन ३–० गोल अन्तरले हरायाे

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथ हेप्टनमाथि फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा युनाइटेडले साउथ हेप्टनलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो। लिगको चार खेलमा युनाइटेडले समान दुई खेलमा जित र हारको नतिजा ल्याएको छ। दुई खेलबाट ६ अंक बनाएको युनाइटेड अंक तालिकाको सातौँ स्थानमा छ।  समान खेलबाट सबै खेलमा हार भोगेको साउथ हेप्टनले भने अंक तालिकाका खाता खोल्न सकेको छैन। साउथ हेप्टन अंकविहिन रुपमा १९ औँ स्थानमा छ। एक खेल कम खेलेको एभर्टन भने पुछारमा छ। पहिलो हाफको ३५ औँ मिनेटमा युनाइटेडका लागि म्याथिज डे लिग्टले पहिलो गोल गरे। लिग्टले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु​​​​​​​

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।  डा गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उहाँले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजकता अपनाउन आग्रह गर्नुभयो । 

सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ । नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो सङ्ख्यामा बालबालिका बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताउनुभयो । 

निर्माण व्यवसायीहरूलाई अन्याय हुन्न : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि किसिमको अन्याय हुन नदिने बताउनुभएको छ ।, सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको आज धनगढीमा आयोजित १७ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने ऐन, नियमावलीलाई संशोधन गर्न तथा कार्यविधि बनाएर अगाडि बढ्ने भए पनि आफू तयार रहेको विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहले काम सम्पन्न भइसकेका, दायित्व सिर्जना भइसकेका, भुक्तानी दिन बाँकी रहेका निर्माण व्यवसायी, कम्पनीहरूलाई भुक्तानी दिनुपर्दछ भनी स्पष्ट निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बजेटमा त्यो सम्बोधन हुन्छ भन्ने मलाई विश्वास छ र यही सेरोफेरोमा यो बजेटलाई अगाडि बढाउन खोजिएको छ ।”

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका दश जना स्रष्टालाई सम्मान गर्नुभएको छ । सांस्कृतिक समाज नेपालले आज यहाँ आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदुरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने यक्तित्वहरूलाई सम्मान गर्नुभयो ।

नीतिगत सुधारको पक्षमा कृषि मन्त्रालयः मन्त्री अधिकारी

 कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र कृषकका पक्षमा बाधक देखिएका ऐन, नियम संशोधन गरी कृषकमैत्री कानुन ल्याउन लागेका    बताउनुभएको छ ।  धादिङ टोखा समाजद्वारा आज यहाँ आयोजित ‘कृषि क्षेत्रको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा समयसापेक्षरूपमा ऐन, कानुनसहित नीतिगत व्यवस्था सुधार गरी कृषि क्षेत्रमा यथासक्य चाँडो सकारात्मक परिवर्तन गर्न चाहेको स्पष्ट गर्नुभयो । 

संसदीय छानबिन विशेष समितिको बैठक सुरु

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्‌ ।समितिले तयार गरेको सहकारी ठगीबारे मस्यौदा प्रतिवेदनमा आज (शनिबार) बिहान ८ बजेदेखि नै छलफल थालेको थियो । समिति सदस्यहरूले बिहानको चियादेखि खाना र खाजा पनि सिंहदरबारमै खाएका थिए ।

तनहुँमा पुल तथा सडकका लागि रु एक अर्ब ३८ करोड बजेट

गण्डकी प्रदेश सरकारले तनहँुमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो ।  कार्यालय प्रमुख रवीन्द्र तिवारीले १७ वटा सडक तथा पुलका लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँका अनुसार शालिग्राम कोरिडोर (दासढुङ्गा साधेबगर भतेरी खण्ड) का लागि रु २० करोड विनियोजन भएको छ । 

चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा

बेदकोट नगरपालिका–४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गासमेत कटानी गरेको छ ।  नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताउनुभयो । “थोरै जग्गा थियो, त्यै जग्गा पनि नदीले बगाएको छ, घरसमेत उच्च जोखिममा परेको छ”, उहाँले भन्नुभयो । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सृजना भएको ओडले बताउनुभयो । 

राति कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।