सहकारी ठगीबाट जोगिन् डिभोर्स गरेका धनराज ज्याेतिकाे ऋण तिर्दै, रविभन्दा ठूलो घोटाला

सहकारी घोटाला प्रकरणबाट जोगिन कांग्रेस उपसभापति एवं सांसद धनराज गुरूङले श्रीमती ज्योती गुरुङसँग सम्बन्ध विच्छेद (डिभोर्स) गरेको पाइएको छ। केही दिन अघि यो समाचार प्रकाशित हुँदा गुरुङले आफूले ०७६ मै सम्बन्ध विच्छेद गरिसकेको र आफूललाई कुनै जानकारी नरहेको बताएका थिए। 

त्यति मात्र होइन उनले भनेका थिए, ‘साथै निज ज्योतीजी सँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजी सँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’तर, पूर्वकानुनमन्त्री रहेका गुरुङले ज्योतिको ऋण तिरिरहेको पाइएको छ।  यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने आधार देखिएको छ।

ज्योति ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्। यो सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप उनीमाथि छ। नेपाल प्रहरीको सिआइबीदेखि संसदीय छानबिन समितिमा उजुरी छ। तर, गुरुङले ज्योतिसँग कुनै सम्बन्ध नरहेको बताइरहँदा प्रमाण फेला परेको छ। ज्योतिको नाममा भएको ऋण धनराजले तिरेको रसिद संसदीय छानबिन समितिले प्राप्त गरेको छ। समितिले मितेरी सहकारीसहित उपत्यकाका १३ सहकारीमा बिहीबार अनुगमन गरेको थियो। जसमध्ये १० वटा सहकारी बन्द थिए। 

मितेरीका अध्यक्ष कुम्भराज गुरूङले समितिका सदस्यहरूलाई धनराज र ज्योतिको सम्बन्धविच्छेद भए पनि उनीहरूले सहकारीबाट लिएको ऋण धनराजले नै तिरेको जानकारी दिएका थिए। ०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिद छ।

धनराजले २०७८ सालको चैत ४ गते ललितपुरमा रहेको ४ आना जग्गामा बनेको घर २ करोड ३५ लाखमा बेचेर केही ऋण चुक्ता गरेका थिए। उनी कानुन मन्त्री भएका बेलामा समेत सहकारीको ऋण तिरिरहेका थिए।  

धनराजले भने विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘निज ज्योति गुरुङ उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

मितेरी  तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्ध सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सिआइबीमा उजुरी दिएका हुन्। संसदीय छानबिन समितिले कुम्भराजलाई बोलाएको थियो।  रास्वपा सभापति रवि लामिछानेमाथि पनि सहकारी ठगीको उजुरी छ। उनको नाममा पोखरा र बुटवलका सहकारीबाट ऋण प्रवाह भएको थियो। धनराजले यो विषय जोडतोडका साथ उठाएका थिए। तर, त्यो भन्दा पनि ठूलो घोटाला मितेरीमा भएको पाइएको छ।