आइफोन १६ सिरिज अबको एक महिनाभित्र नेपालमा उपलब्ध हुने

 आइफोन १६ सिरिज अबको एक महिनाभित्र नेपालमा उपलब्ध हुने भएको छ। नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले एक महिनामा यो सिरिज नेपाल आइपुग्ने जानकारी दिएका हुन्।

विश्वका विभिन्न बजारमा यो सिरिज २० सेप्टेम्बरदेखि बिक्रीका लागि उपलब्ध हुँदैछ। नेपालमा भने केही साता ढिला गरी आइफोन १६ आउने छ। एप्पलले आइफोन १६ मा चार मोडेल र १३ स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ। यसअन्तर्गत आइफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा ठूलो परिवर्तन गर्दा प्रो र प्रो म्याक्स मोडेलको डिजाइन पूर्ण रूपमा फेरिएको छ।

आइफोन १६ मा ६.१ इन्च र आइफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले रहेको छ। त्यस्तै आइफोन १६ प्रोमा ६.३ इन्च र आइफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ। आइफोन १६ र आइफोन प्लसमा ६० हर्जको रिफ्रेस रेट रहँदा प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेटसहितको प्रोमोसन डिस्प्ले उपलब्ध गराइएको छ। सबै मोडेलमा फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ।

एप्पलले यसअघिका आइफोनभन्दा नयाँ मोडेलको फ्रेम बढी बलियो र टिकाउ हुने बताएको छ। यी मोडेलमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्यानेजमेन्टको सुविधा भएको कम्पनीले जनाएको छ। तर ब्याट्रीको क्षमता भने खुलाइएको छैन। 

एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आइफोन १६ सिरिजमा सिरीसँग जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ। यसमा भएको एआईले फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ।आइफोन १६ का बेसिक मोडेलमा ए १८ बायोनिक चिपसेट र प्रो मोडेलमा ए १८ प्रो बायोनिक चिप समावेश गरिएको छ।फोटोग्राफीका लागि आइफोन १६ र आइफोन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ। यसले ४८ एमबीसम्मको फोटो खिच्न सक्छ।