टिकटकले नेपालका लागि माग्यो ‘पब्लिक पोलिसी म्यानेजर’ पदमा कर्मचारी

सामाजिक सञ्जाल टिकटकले पब्लिक पोलिसी म्यानेजर पदमा आवेदन माग गरेको छ ।

टिकटकले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत् आवेदन दिन सूचना जारी गरेको हो।सरकार, नीति निर्माता र प्रमुख नेताहरूसँग सम्बन्ध विस्तार गर्न, रणनीति बनाउन लगायत विभिन्न जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्ने भनिएको छ।

विशेषगरी सार्वजनिक नीति, सरकारी सम्बन्ध र वकालत गर्न सक्ने क्षमता भएका र अंग्रेजी र नेपालीमा लेख्न, पढ्न र बोल्न सक्ने योग्यता हुनुपर्ने उल्लेख छ। राजनीतिक शास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार र सामाजिक मामिलाहरूसँग सम्बन्धित डिग्री गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

सामाजिक सद्भाव र वातावरणमा खलल पु‍र्‍याउन भूमिका खेलेको भन्दै २०८० कात्तिक २७ मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसको नौ महिनापछि गत भदौ ६ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिबन्ध फुकुवा गरेको हो । अघिल्लो साता मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो । त्यसयता सबै डिभाइसमा पूर्ण रूपमा टिकटक चल्न थालेको छ ।