विदेशी धार्मिक पर्यटकका निम्ति पशुपतिनाथ मन्दिरमा विशेष व्यवस्था गर्ने

विदेशी धार्मिक पर्यटकका निम्ति पशुपतिनाथ मन्दिरमा विशेष व्यवस्था गर्न लागिएको छ ।

पर्यटन विभागले विदेशी धार्मिक पर्यटकका लागि मन्दिरमा छुट्टै लाइनको व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । 

अन्य भक्तजनसँग एउटै लाइनमा बसेर दर्शन गर्न विदेशी पर्यटकलाई सास्ती भएको उल्लेख गर्दै विभागले उनीहरुका लागि छुट्टै लाइनको व्यवस्था मिलाउन भनेको छ । विभागका महानिर्देशक डा.नारायणप्रसाद रेग्मीले कोषलाई गरेको पत्राचारमा विदेशी पर्यटकको सहजतालाई ध्यानमा राखेर आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका छन् । 

‘हिन्दूहरुका आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट आउनुहुने धार्मिक पर्यटकहरुलाई लाइनमा बसी दर्शन गर्न लामो समय लाग्ने भएको सन्दर्भमा विदेशी मुलुकबाट श्री पशुपतिनाथ दर्शनार्थ आउनुहुने श्रद्धालु धार्मिक पर्यटकहरुको सहजताका लागि छुट्टै लाइनको व्यवस्था मिलाउनेगरी आवश्यक सहजीकरण गरिदिनुहुन...’, पत्रमा उल्लेख छ ।