यस बर्षको ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि सम्पदा घिमिरेलाई

यस बर्षको मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जित्नुभएको छ । ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा आज भएको फिनालेमा २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिनु भएको हो ।

मिस युनिभर्स नेपालको ताज जितेसँगै सम्पदाले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुनेछ । अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम गर्दै आउनु भएकी सम्पदा मोडलिङ पनि गर्दै आउनु भएको छ ।

मिस युनिभर्स नेपालको ताज जितेपछि ठूला सपना देख्ने र मेहनत गर्ने कुरामा आफू विश्वास गर्ने बताउनु भएकी सम्पदाले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने काममा लाग्ने बताउनु भयो । प्रतियोगितामा फस्ट रनरअप स्मृति सिंह, सेकेन्ड रनरअप अक्षिता क्षेत्री, थर्ड रनरअप करिन मुर्रे र फोर्थ रनरअप सुजल बम भएका छन।

ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा २२ प्रतिस्पर्धी सहभागी थिए। फिनालेका लागि जुरीमा पूर्वमिस युनिभर्स सोफिया भुजेल, पूर्वमिस नेपाल इसानी श्रेष्ट, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, गोल्डस्टारका कार्यकारी निर्देशक विदुशी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल, समीक्षा शारदा संघाइ र कांग्रेस नेतृ डिना उपाध्याय रहनुभएको थियो ।