एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

शिविरमा ३०० भन्दा बढीले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको कम्पनीले जानकारी दिएको छ ।शिविरमा सहभागीहरूले परामर्शअनुसारको आवश्यक निःशुल्क औषधि पनि पाएको बताइएको छ । यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाका साथ समस्यासँग जुध्न मदत गर्ने बताइएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य तीन विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

“एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौँ । यसै अनुरुप हामीहरूले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरू गर्दै आएका छांँ । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८औँ वर्षको लागि १८ वटा सामाजिक पहलका लागि आवेदन खुल्ला गरेको थियो । यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै, कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।

Health-Camp-(11)-1726063074.jpgHealth-Camp-(7)-1726063072.jpgHealth-Camp-(11)-(1)-1726063072.jpg