भक्तपुर गठ्ठाघर दुर्घटना प्रकरण : दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान

 भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।

ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले  बताए ।२४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो ।

श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो ।उपदफा (२)मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।३१ साउनको दिउँसो १ः४० बजेतिर श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

स्थानीयले भने ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्याँससमेत प्रहार गर्नु परेको थियो ।

प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुरे राउत र भक्तपुरको गठ्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए ।प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्‍याएका थिए ।

घटनाको छानबिन गर्न भक्तपुरका सहायक सीडीओ डोरेन्द्र निरौला र प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी नेतृत्वमा छुट्टा-छुट्टै दुई समिति बनेका थिए ।दुवै समितिले ट्राफिकले दुर्घटनामा परेका सवारी नरोकेको निष्कर्ष निकाल्दै ट्राफिकको गल्ती नरहेको उल्लेख गरी प्रतिवेदन बुझाएको थियो ।