रातो पासपोर्टमा मुछिएका कांग्रेस उपसभापति धनराज सहकारी ठगीमा पनि, श्रीमतीसँग‘नक्कली डिभोर्स’!

नेपालमा एउटा कान्ड बेलाबेला चर्चामा आउछ। त्यो हो, रातो पासपोर्ट काण्ड। सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने पदाधिकारीलाई कूटनीतिक राहदानी प्रदान गरिन्छ। रातो पासपोर्टमा सजिलै भिसा लाग्छ। 

आर्थिक लाभ लिएर कांग्रेस स्याङ्जाका नेता धनराज गुरुङसहितका केही नेतामाथि कारबाही चलेको थियो। यद्यपि, पछि उनले विशेष अदालतबाट सफाइ पाए। गुरुङ अघिल्लो वर्ष कानुनमन्त्री पनि बने।   तिनै नेता गुरुङ अहिले कांग्रेस उपसभापति छन्। उनी सहकारी ठगी प्रकरणमा मुछिएका छन्। ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५ करोड ठगीमा गुरुङविरुद्ध पनि उजुरी परेको छ। 

मितेरी सहकारीमा उपसभापति गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङ प्रबन्धक थिइन्। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सिआइबीमा आर्थिक ठगी अपराधमा अनुसन्धानको माग गर्दै जाहेरी दिएपछि गुरुङ पनि मुछिएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस सांसद गुरुङ र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध सहकारी बचत ठगीमा उजुरी परेको भन्दै छानबिनको माग पनि गरे। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भने, ‘सहकारी बचत ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कांग्रेस सांसदविरूद्ध नै सहकारी बचत रकम ठगीको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको भन्दै सांसद पराजुलीले अब छानबिन हुन्छ कि हुन्न भन्ने प्रश्न पनि छ।’

गुरुङले आफ्नो सम्बन्ध विच्छेद भइसकेको बताइरहेका छन्। तर, सहकारी ठगीको अनुसन्धानबाट जोगिन उनले नक्कली डिभोर्स गरेको आरोप पनि छ। गत वर्ष कानुनमन्त्री भएका बेला गुरुङ अमेरिका भ्रमणमा पुगेका थिए। त्यतिखेर गुरुङ र ज्योतिबीच भेटघाट भएको थियो। 

गुरुङले सोमबार साँझ वक्तव्य जारी गरी धनराजका अनुसार त्यसो भनेपछि ज्योतिले अदालतमा डिभोर्सको फाइल गरेकी थिइन्। त्यसपछि २०७६ फागुन २९ गते डिभोर्स भइसकेको उल्लेख गरेका छन्। धनराज आफू कुनै पनि सहकारीको रकम दुरुपयोगमा संलग्न नभएको दाबी गर्छन्। उनले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने पनि माग गरेका छन्।

सहकारी ठगीमा संसदको छानबिन समितिले छानबिन गरिरहेको छ। एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले देशभरका २९ वटा सहकारीको बचत हिनामिनाबारे छानबिन गरिरहेको छ। समितिले प्रतिवेदन लेखन तयारी गरिरहेका बेला उपसभापति गुरुङविरुद्ध पनि उजुरी परेको हो। कुम्भराज गुरुङले उजुरी दिएका हुन्। धनराज र ज्योति गुरुङ र अर्का ज्योति भण्डारीले आफ्नो सहकारीबाट रकम ठगी गरेको भन्दै कुम्भराजले निवेदन दिएका हुन्। उनीहरू दुवैजना थाइल्यान्ड या सिंगापुरमा लुकेर बसेको दाबी गरिएको छ।