पाथुम निसानकाको शतककाे मद्दतमा  तेस्रो खेलमा श्रीलंकाले इङ्ल्यान्डलाई आठ विकेटले हरायाे

 तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा श्रीलंकाले इङ्ल्यान्डलाई हराएको छ ।

तेस्रो टेस्टको चौथो दिन सोमबार श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।तीन टेस्टको श्रृंखला भने इङ्ल्यान्डले २-१ ले जितेको छ । यसअघि पहिलो टेस्टमा इङ्गल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएको थियो । दोस्रो टेस्टमा पनि इङ्ल्यान्ड एक सय ९० रनले विजयी भएको थियो ।

तेस्रो टेस्टको चौथो दिन दुई सय १९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको श्रीलंकाले केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। श्रीलंकाको जितमा ओपनर ब्याट्सम्यान पाथुम निसानकाले अविजित एक सय २७ रनको योगदान गरे ।पाथुम निसानकाले एक सय २४ बलको सामना गरी दुई छक्का र १३ चीका पनि हिर्काए। एन्जेलो ग्याथ्यूज ३२ रनमा अविजित रहे । कुशल मेन्डिसले ३९ रन बनाएका थिए । अर्का ओपनर दिमुथ करुणारने आठ रन बनाउँदै आउट भएका थिए ।

त्यसअघि इङ्ग्ल्यान्डको टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ५६ रनमा अलआउट भएको थियो । श्रीलंकाले पहिलो पालीमा दुई सय ६३ रन बनाएको थियो । पहिलो पालीमा पाथुम निसानकाले ६४, कप्तान धनन्जय डा सिल्भाले ६९ र कामिन्दु मेन्डिसले ६४ रन बनाएका थिए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले भने आफ्नो पहिलो पालीमा तीन सय २५ रन बनाएको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि कप्तान ओली पोपेले एक सय ५४ रनको योगदान गरेका थिए। ओपनर बेन डकेटले पनि ८६ रन बनाएका थिए ।