सहकारी ठगीका मुख्य आरोपित जीबीलाई नेपाल फिर्ता गर्न सरकारले ताकिता गरेपछि मलेसियाले माग्याे थप कागजात

सहकारी ठगीका मुख्य आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईलाई नेपाल फिर्ता गर्न सरकारले ताकिता गरेपछि मलेसियाले फेरि थप कागजात मागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट झिकाएर ती कागजात मलेसिया पठाइसकिएको गृह मन्त्रालयका एक अधिकारीले बताए। 

उनका अनुसार मलेसियाले पछिल्लोपटक पीडित र साक्षीको बयान कागज माग गरेको हो। मलेसियाले मागेका कागजात भाषा उल्था गरेर पठाइएको छ। 

‘नेपाल प्रहरीको टोली मलेसिया गएर फर्किएपछि थप कागजात पठाइएको हो। यसअघि नेपाल प्रहरीको टोली पनि मलेसिया गएर जीबी राईको बारेमा बुझेर फर्किएको छ। तर मलेसियाले केही थप कागजात माग गरेको छ र ती कागजात पनि पठाइसकिएको छ,’ गृहका ती अधिकारीले भने। 

रवि लामिछाने हटेर रमेश लेखक गृहमन्त्री भएसँगै जीबीलाई फिर्ता ल्याउन फेरि सरकारले ताकिता गरेको हो। यसअघि रवि गृह मन्त्रालयमा हुन्जेल उनलाई फर्काउन सरकारले कुनै प्रक्रिया अगाडि बढाएको थिएन। त्यसअघि नारायणकाजी श्रेष्ठले जीबीलाई नेपाल ल्याउन जोड गरेका थिए। त्यतिबेलैदेखि इन्टरपोलबाट समेत पहल भइरहे पनि सरकारले फर्काउन भने सकेको छैन।

‘मलेसियाले थप कागजात माग्नुको अर्थ अब फर्काउन सक्छ भन्ने हाम्रो बुझाइ हो। हामी त चाँडै आश्चर्यजनक रूपमा नेपाल ल्याउन सकिन्छ भन्ने आशामा छौँ,’ गृहका ती अधिकारीले भने। यसअघि जीबीबारे बुझ्न र मलेसियासँग पहल गर्न नेपाल प्रहरीका उपरीक्षक (एसपी) र प्रहरी नायब निरीक्षक (सई) मलेसिया गएर फर्किएका थिए। 

गत बुधबार उनीहरू फर्किएपछि नेपालबाट इन्टरपोलमार्फत थप कागजात पठाइएको हो। जीबीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसके पनि मलेसियाले उनलाई समातेर बुझाउन मानेको छैन। यसअघि गत फागुन दोस्रो साता पनि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा जीबीलाई फिर्ता गरिदिन मलेसियालाई कूटनीतिक पत्र पठाइएको थियो। त्यसलगत्तै श्रेष्ठ गृहमन्त्रीबाट हटेर परराष्ट्रमन्त्री बने। गृहमा जीबीकै व्यावसायिक साझेदार समेत रहेका रवि लामिछाने आएका थिए। लामिछाने पनि जीबीकै सहकारी र गोर्खा मिडिया नेटवर्कका ठगी मुद्दामा जोडिएका छन्। उनीविरुद्ध अहिले पनि प्रहरी र संसदीय छानबिन समितिले अनुसन्धान गरिरहेको छ। 

गृहमन्त्रीबाट हटेपछि प्रहरीले पूरक जाहेरीका सम्बन्धमा रविसँग सोधपुछ गरिसकेको छ। उनी जोडिएका कम्पनीमा छापा मारेर प्रहरीले कागजात समेत नियन्त्रणमा लिएको छ। रविले बयानका क्रममा संसदीय समिति र प्रहरीलाई नै इन्कारी बयान दिएका छन्। तर जीबी मुद्दा दायर भएलगत्तै मलेसिया फरार छन्। उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रूपैयाँ ठगी गरेको आरोप छ। जीबीसहित १९ जनाविरुद्ध मुद्दा दायर भएकोमा पछि पूरक जाहेरी समेत परेको छ। पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा छन्। जीबीसहित केही फरार छन्। पूरक जाहेरीपछि प्रहरीले थप २५ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।