पश्चिम तराईमा उल्लासपूर्वक अटवारी पर्व मनाइँदै

 काठमाडौँ, २३ भदौ :  पश्चिम  तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन् । 

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा मौलिक सांस्कृतिक कार्यक्रमका साथ  रमाइलो गर्ने गर्दछन् ।


यो पर्वमा ‘अण्डी’ धानको चामलबाट मीठा परिकार पकाउने गरिन्छ । यो धानको चामल सर्वसुलभ नभएपछि अन्य जातको धानको चामल प्रयोग गर्नुपरेको यो समुदायका अगुवा बताउँछन् । अण्डी भात तथा रोटी, खुर्मा, फुलौरी, खरिया, घोङ्घी, गेंता टिना, मच्छी टिना, सुरिक सिकारलगायत परिकार बनाउन प्रयोग गरिन्छ ।  

यो पर्वमा पूजाको काम सकिएपछि छोरीबहिनीका लागि अलग्गै छुट्याएर राखिने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । छोरी बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । पर्वको दोस्रो दिन बिहानै यसरी छुट्याइएको अग्रासन (खानाका परिकार) आफ्नी छोरीबहिनीको घरसम्म पुर्याइदिने चलन छ ।

महाभारतको युद्धमा पराजित भई वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको डगौरा चौधरी समुदायका अगुवा बताउँछन् । पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ ।  अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ ।