सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न ‘पाँच गणेशको दर्शन र पूजायात्रा’

 

 काठमाडौँ, २३ भदौ : धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि आज गणेश चतुर्थी पर्वका अवसरमा उपत्यकाका पाँच गणेशको दर्शन र पूजायात्रा सम्पन्न भएको छ । विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का पाँच विनायकको दर्शनयात्रा गरिएको हो ।

सहारा महिला समाजको आयोजना तथा गोल्डेन आई ग्रुपको यात्रा व्यवस्थापनमा भएको उक्त कार्यक्रममा उपत्यकाका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता थियो । काठमाडौँको काष्ठमण्डपसँगै रहेकोे अशोकविनायक (मरुगणेश)बाट सुरु भएको यात्रा चोभारको जलविनायक, ललितपुरको बुङ्मतीस्थित कार्यविनायक, भक्तपुरको सूर्यविनायक र कमलविनायकको दर्शन तथा पूजा आराधना गरी धार्मिकयात्रा आज साँझ सम्पन्न गरिएको यात्रा व्यवस्थापक गोल्डेन आई ग्रुपका अध्यक्ष अरुण सिलवालले जानकारी दिनुभयो ।

पन्ध्र वर्षअघिदेखि सुरु भएको उक्त पाँच गणेश दर्शन पूजायात्रा हरेक वर्ष जारी राखिएको छ । अध्यक्ष सिलवालले सुरुमा व्यक्ति–व्यक्ति मिलेर र ट्राभल एजेन्सीहरूबाट सुरु गरिएको उक्त धार्मिकयात्रामा अहिले विभिन्न सामाजिक सङ्घसंस्था नै जोडिएर एउटा पर्वकै रूपमा विकास भएको जानकारी दिनुभयो । सुरुआती चरणमा १५ वर्षअघि सिलवाल, भूपेन्द्रराम श्रेष्ठलगायतका प्रतिनिधिबाट यात्रा थालिएको थियो ।

“यसको मुख्य उद्देश्य सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धन गर्नु हो, त्यसमाथि सबैभन्दा पहिले पूजा हुने गणेश भगवान्को पूजाआराधना पनि गर्न पाइने हुँदा भक्तजनको सहभागिता हरेक वर्ष बढ्दो छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा हरेक विनायकमा धिमेबाजा बजाएर नाजगान गर्दै विनायकको दर्शन र पूजा गरिएको थियो । आजको गणेश चतुर्थी पर्व, सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । यात्रामा सहभागी हरिन्द्रराज घिमिरेले यसरी धार्मिकयात्रा आयोजना हुँदा नेपालको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्दै सहभागी हुँदा आफूलाई पनि सन्तोष मिल्ने बताउनुभयो ।