के मोबाइल प्रयोगले ब्रेन क्यान्सरको जोखिम बढाउँछ ?

 मोबाइल फोनको प्रयोगले मस्तिष्क क्यान्सरको जोखिम बढाउँछ भन्ने विश्वास अब मिथकजस्तै देखिएको छ । हालै सम्पन्न एक अध्ययनले मोबाइल प्रयोग र मस्तिष्क क्यान्सरबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको निष्कर्ष दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा गरिएको यस अध्ययनले पछिल्लो २० वर्षमा वायरलेस प्रविधिमा आक्रामक विकास भए पनि क्यान्सरका घटनाहरूमा कुनै वृद्धि नदेखिएको उल्लेख गरेको छ । विकिरण तथा आणविक सुरक्षा एजेन्सीका विशेषज्ञहरूको नेतृत्वमा गरिएको यस अध्ययनमा १० देशका अनुसन्धानकर्ता संलग्न थिए ।

अध्ययनले मोबाइल फोन, वाई-फाई, राडार, बेबी मोनिटर जस्ता उपकरणमा प्रयोग हुने ३०० हर्जदेखि ३०० गीगाहर्ज रेडियो फ्रिक्वेन्सीहरूमाथि अनुसन्धान गरेको थियो । अकल्याण्ड विश्वविद्यालयका क्यान्सर रोग विशेषज्ञ प्रोफेसर मार्क एलवुडका अनुसार यस अनुसन्धानले मस्तिष्कसँगै पिटुइटरी ग्रन्थी, लार ग्रन्थी तथा रक्त क्यान्सर (ल्यूकेमिया)सँग मोबाइल फोन प्रयोगको कुनै सम्बन्ध नदेखाएको छ ।

अध्ययनका क्रममा २२ देशमा सन् १९९४ देखि २०२२ सम्मका ६३ वैज्ञानिक लेखहरूको समीक्षालाई आधार बनाइएको थियो । साथै, यस अध्ययनले रेडिओ, टिभी ट्रान्समिटरहरू वा मोबाइल टावरहरूबाट बालबालिकामा ल्यूकेमिया वा मस्तिष्क क्यान्सरको जोखिम पनि नदेखाएको निष्कर्ष निकालेको छ 

प्रोफेसर एलवुडका अनुसार उच्च फ्रिक्वेन्सी भएका राडारहरूको अध्ययनले पनि मस्तिष्क क्यान्सरको जोखिम देखाएको छैन । अध्ययनको नतिजा ‘इन्भाइरोमेन्ट इन्टर्नेसनल’ जर्नलमा प्रकाशित गरिएको छ ।

अध्ययनले मोबाइल फोन र क्यान्सरका अन्य प्रकारहरूसँगको सम्भावित सम्बन्धबारे भने अनुसन्धान आवश्यक रहेको बताएको छ ।