टेलिग्रामले अब प्रयोगकर्ताको प्राइभेट च्याटमा निगरानी गर्ने

टेलिग्रामले अब प्रयोगकर्ताको प्राइभेट च्याटमा निगरानी गर्ने भएको छ । यसअघि च्याट निगरानी नगर्ने नीति कडा रूपमा पालना गर्दै आएकोमा संस्थापक एवं सीईओ पाभेल दुरोव फ्रान्समा पक्राउ परेपछि टेलिग्रामले नयाँ नीति अवलम्बन गर्न थालेको हो ।

टेलिग्रामको आधिकारिक एफएक्यू (प्रश्न उत्तर) पेजबाट चुपचाप उक्त नीति हटाइएको छ । सीईओ दुरोवले टेलिग्राममार्फत हुने आपराधिक गतिविधिलाई बेवास्ता गरेको आरोप लागेको छ । 

पक्राउ परेको दुई सातापछि दुरोवले नै टेलिग्राममा हुने कन्टेन्टको निगरानी बढाउने उल्लेख गरेका छन् । “९५ करोड प्रयोगकर्तामा विस्तार हुनुका कारण प्लेटफर्ममा दुरुपयोग गर्ने अपराधीहरूको संख्यामा वृद्धि भएको छ”, दुरोवले आफ्नो विज्ञप्तिमा भनेका छन्, “यही कारण मैले व्यक्तिगत रूपमा प्लेटफर्ममा सुधार गर्ने लक्ष्य राखेको छु । र यस प्रक्रिया आन्तरिक रूपमा सुरु भइसकेको छ ।”

अहिले टेलिग्रामको एफएक्यू पेजमा पनि नीति परिवर्तन भएको देख्न सकिन्छ । पहिला ‘टेलिग्राम च्याटहरू निजी हुन्छन् र हामी कुनै अनुरोध प्रक्रियामा राख्दैनौं’ भनिएको थियो । अहिले भने ‘सबै टेलिग्राम एपमा अवैध सामग्री रिपोर्ट गर्न 'रिपोर्ट' बटनहरू छन्’ भन्ने वाक्य राखिएको छ ।

बालयौन दुर्व्यवहार सामग्री र लागूऔषध तस्करीको लागि टेलिग्राम प्रयोग भइरहेको र उक्त प्लेटफर्मको नेतृत्वले यसमा बेवास्ता गरेको भन्दै दुरोवलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको थियो ।