राहुल द्रविड राजस्थान रोयल्समा प्रमुख प्रशिक्षकको रूपमा फेरि फर्किए

भारतीय क्रिकेट टोलीका पूर्वप्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब राजस्थान रोयल्समा आबद्ध हुने भएका छन् । भारतलाई आईसीसी टी-२० विश्वकपको उपाधि जिताएलगत्तै द्रविडले राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक पदबाट बिदा लिएका थिए ।

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आईपीएलको आगामी संस्करणका लागि निकट भविष्यमा मेगा अक्सन हुँदैछ । त्यसअघि नै द्रविड राजस्थान रोयल्समा आबद्ध हुने समाचार बाहिरिएको हो ।

द्रविडले राजस्थान रोयल्समा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार, द्रविडले राजस्थान रोयल्ससँग सम्झौतासमेत गरिसकेका छन् । क्लबले द्रविडसँग आगामी सिजनका लागि रिटेन गर्ने (क्लबमै राख्ने) खेलाडीको विषयमा समेत छलफल गरेको बताइएको छ ।

द्रविड र राजस्थान रोयल्सका कप्तान सन्जु सामसनबिच निकै पुरानो सम्बन्ध रहेको छ । द्रविडलाई भित्राउन सामसनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। राजस्थान रोयल्स र द्रविडबिच पनि निकै पुरानो सम्बन्ध रहेको छ ।

सन् २०१२ र सन् २०१३ सिजनको आईपीएलमा द्रविड राजस्थान रोयल्सका कप्तान थिए । त्यसपछि सन् २०१४ र सन् २०१५ सिजनमा द्रविडले राजस्थान रोयल्समा निर्देशक र मेन्टरको भूमिका पनि निर्वाह गरेका थिए ।
त्यसपछि सन् २०१६ मा द्रविड अर्को आईपीएल क्लब दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा आबद्ध भएका थिए । भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघिसम्म द्रविड दिल्लीमै आबद्ध थिए । उनी सन् २०२१ मा भारतीय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।