बनेको दुई वर्षसम्म पनि प्रहरी चौकी भवन प्रयोगविहीन

 सप्तरीको बोदे बरसाइन नगरपालिकामा–७ मानराजामा प्रहरी चौकी स्थापनार्थ बनेको भवन अझै प्रयोगमा आउन सकेको छैन । वडा कार्यालयको पहलमा भवन निर्माण भए पनि जनशक्तिको अभाव देखाउँदै जिल्ला प्रहरी कार्यालयले प्रहरी नपठाउँदा भवन प्रयोगमा आउन नसकेको हो ।

शनिवार नवनिर्मित भवनको निरीक्षण गर्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीसमक्ष स्थानीयले जनशक्ति व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

जवाफमा मन्त्री लेखीले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले स्थानीयको मागअनुसार बनेको प्रहरी चौकीमा चाँडै प्रहरी जनशक्ति पठाइने आश्वासनसमेत दिए । नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री लेखीको भनाइ थियो ।

नगरपालिकाकाले शान्ति सुरक्षाको व्यापारीहरू पलायन हुन थालेपछि प्रहरी चौकी स्थापनार्थ भवन बनाइ दिए पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले दरबन्दी अभाव देखाएर प्रहरी नपठाउँदा सञ्चालनमा आउन नसकेको स्थानीयले गुनासो गरेका थिए । वडाध्यक्ष विजयनारायण कपैरले जिल्लाको पुरानो बजार मानराजा शान्ति सुरक्षाको अभावमा ओझेलमा परेको गुनासो सुनाए ।

यहाँ दुई वर्षअघि नै भवन बने पनि प्रहरी चौकी स्थापना हुन सकेको छैन । स्थानीयको गुनासोपछि मन्त्री लेखी र सोही मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलगायतले निरीक्षण गरी जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका नेकपा (एमाले) बोदे बरसाइन नगर कमिटी उपाध्यक्ष अनोजकुमार यादवले जानकारी दिए ।