अहंकारको विमान चढेर कहाँ पुग्लान् ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एउटा कार्यक्रममा गएर बुद्ध दर्शनबारे प्रवचन दिए । काठमाडौंमा आयोजित जय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा ओली बौद्ध दर्शनको खास व्याख्याता आफैजस्तो गरी प्रस्तुत भए ।

नेपाल बुद्धको जन्मथलो मात्रै नभई बुद्ध दर्शनको वाहक रहेको उनको भनाइ थियो । बुद्धले बिनाज्ञान घर, दरबार, परिवार नछोडेको उनको व्याख्या थियो । बिनाज्ञान सबै कुराको त्याग गर्न नसकिने भन्दै उनले भने, ‘यत्तिकै बुद्धले आफ्नो राजकाज छोडेका थिएनन् । यत्तिकै बुद्धले श्रीमती, घरपरिवार छोडेका थिएनन् । सुविधा थियो होला त्यो छोडेका थिएनन्, केही सोच नै नभइकन, ज्ञान नै नभइकन घर कसैले छोड्छ ? त्यत्तिकै ज्ञान नभइ दरबार छोड्छ ? सबै त्याग कसरी गर्नुभयो उहाँले ? नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको वाहक पनि हो । भारतका विभिन्न ठाउँमा गएर गर्नुभएको तपस्या, ध्यान, त्यहाँ उहाँले प्राप्त गर्नुभएको ज्ञान, त्यसलाई गर्नुभएको बिस्तार कम छैन ।’

प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको पनि बताएका थिए । उनका यी भनाइमा विमति राख्ने ठाउँ नहोला । उनको अभिव्यक्ति आपत्तिजनक पनि नहोला । तर ओलीको एउटा स्वभाव के छ भने माइक भेटेपछि विद्वता छाँटिहाल्नुपर्ने । कुन कार्यक्रममा कति समय बोल्ने हो, श्रोतासँग उनको भाषण सुन्ने धैर्य र समय छ कि छैन, आयोजकलाई त्यो सुविधा छ कि छैन भन्ने कुराको मतलब हुँदैन ।

ओली तिनै नेता हुन्, एकपटक उनले आधारहीन र अप्रमाणित कुराको अडान लिने नाममा प्रधानमन्त्री पदको ओहोदा र गरिमा नै दाउमा लगाएका थिए । चितवनको ठोरीमा राम जन्मेका हुन् भनेर त्यो कुरा प्रमाणित गर्दै हिँड्न उनले राष्ट्रिय शक्ति लगाए । अम्बाको पातले कुल्ला गरे कोरोना तह लगाउन सकिने भनेर कयौँ घण्टा भाषण गरे । टेलिभिजन र पत्रिकाहरुले भाषा बिगारे भनेर राष्ट्रका नाममा सम्बोधन गरी राष्ट्रिय टेलिभिजनको महत्त्वपूर्ण समय र स्रोतसाधन खर्च गरे । 

सामान्य एउटा भवनको शिलान्यासमा जाँदा पनि विश्व ब्रमाण्डका भाषण दिन पुग्ने उनको यही स्वभावका कारण आमनागरिक वाक्क दिक्क हुने अवस्था आएको थियो । अहिले फेरि उनको प्रवचन आतंक सुरु हुने छाँट देखिँदै छ । 

हो ओली एक अडान भएका नेता हुन् । यति कुरा मान्न सकिन्छ । तर अडानका नाममा अर्काका कुरा सुन्दै नसुन्ने, मै जान्ने सुन्ने, संसारका सारा ज्ञानको मुहान मै, अन्तिम व्याख्याता पनि मै भन्ने प्रकारको अहंकार उनमा भेटिन्छ । 

खासमा सत्तामा जाने भनेको भाषण गर्न होइन । प्रधानमन्त्रीको कुर्सीमा बस्ने भनेको गफ र डिँग हाँक्न होइन । उपदेश दिन पनि होइन । उनी कार्यकारी हुन् । उनले काम गर्नुपर्छ । उनले काम गरेर अरू मन्त्री र कर्मचारी पनि काम गर्न बाध्य हुन्छन् । प्रधानमन्त्री नै गफ हाँकेर बस्छन् भने अरूले किन काम गर्ने ? 

यस्तै प्रधानमन्त्रीले वरिपरि कस्ता व्यक्ति राखेका छन् भन्ने कुरा पनि देशको शासन सत्ता कसरी चलिरहेको छ भन्ने स्पष्ट हुन्छ । ओलीले आउँदाआउँदै दुई स्वायत्त निकायमा हस्तक्षेप गरे । बक्यौता नतिर्ने उद्योगको लाइन जोड्न उनले विद्युत प्राधिकरणलाई दबाब दिए । राष्ट्र बैंकको मौद्रिक नीति रोकेर अनिश्चित बनाइदिए । यी दुवै हस्तक्षेपकारी कदमको पछाडि एउटै कारण छ । त्यो के भने युवराज खतिवडाको मारवाडी व्यवसायीसितको कनेक्सन । 

यसअघि अर्थमन्त्री हुँदा खतिवडाले विशाल ग्रुपलाई पोस्ने काम गरेको सबै छर्लंगै छ । यसपालि बिजुलीको बिल नतिर्ने व्यापारीलाई पोस्न उनी प्रधानमन्त्रीलाई प्रोभोग गर्दै छन् । मौद्रिक नीतिमा पनि युवराज खतिवडाको स्वार्थ के हो भन्दा निश्चित व्यावसायिक घरानालाई पोस्ने नीति के आयो भनेर हेरे पुग्छ । 

त्यसैले प्रधानमन्त्री ओली एक त आफू अहंकारको घोडा चढेर हिँडेका छन् । अर्कोतिर स्वार्थ समूहका एजेन्ट वरिपरि राखेर चल्न खोज्दै छन् । यस तरिकाले न मुलुकमा सुशासन आउँछ । न स्थायित्व र समृद्धि नै ।