सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस- सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना
काठमाडौँ, २ कात्तिकः सहिद सरोजप्रसाद कोइराला नयाँ पुस्तामाझ सायदै चिनिनुभयो । तर नेपालको राजनीतिक इतिहासमा उहाँको नाम एक क्रान्तिकारी योद्धाका रुपमा जीवित छ ।
नयाँ राजनीतिक पुस्ता उहाँ र उहाँको योगदानबारे खासै परिचित नभए पनि उहाँको राजनीतिक अनि सामाजिक जीवनलाई इतिहास मूल्याङ्कन गरेको छ । पिता भैरवप्रसाद कोइराला र मनोरमादेवीको कोखमा १९८५ सालमा जन्मिनुभएका सरोजप्रसाद कोइराला नाताले बिपी कोइरालाका भतिजा हुनुहुन्थ्यो । उहाँका पिता भैरवप्रसाद कृष्णप्रसाद कोइरालाका जेठा दाजुका छोरा हुनुहुन्थ्यो । राजनीतिमा समकालीन कार्यकर्ताहरूले उहाँलाई ‘सरोजबाबु’ भनेर सम्बोधन गर्थे ।
नेपालको राजनीतिक इतिहासमा आफैँमा कोइराला परिवार एउटा क्रान्तिकारी राजनीतिक परिवार हो । यो परिवारका हरेक सदस्यहरूले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा अतुलनीय योगदान गर्नु भएको छ । यही परिवारका केही पुस्ता अहिले पनि नेपाली राजनीतिको शीर्षस्थानमै हुनुहुन्छ । जहाँनिया राणा शासकहरूसँग विद्रोह गरेका कारण कोइराला परिवारको आधा पुस्ता निर्वासित जीवनमै रह्यो ।
त्यो हिसाबले सारोजप्रसाद कोइरालाको प्रारम्भिक शिक्षादीक्षा पनि भारतको बनारसमै भएको थियो । नेपालमा जहाँनिया राणा शासन अनि भारतमा अङ्ग्रेज शासनविरुद्ध आन्दोलन चलिरहेका बेला जन्मिनुभएका उहाँ कलिलै उमेरदेखि राणा शासकविरुद्ध लाग्नुभएको थियो । बनारसको हरिश्चन्द्र हाइस्कुलमा पढ्दै गरेका सरोजप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनार्थ सङ्गठित लडाईं लड्नका लागि नेपाली छात्र सङ्घको सदस्यता लिनुभएको थियो ।
२००३ माघमा कोलकातामा भएको नेपालीको एउटा भेलाले राष्ट्रिय काँग्रेसको स्थापना गरेको थियो । उद्देश्य र लक्ष समान भएपछि नेपाली छात्र सङ्घ पनि राष्ट्रिय काँग्रेसमै समाहित भयो । अहिलेको नेपाली काँग्रेसको प्रारम्भिक जग पनि त्यही राष्ट्रिय काँग्रेस नै हो । खासगरी राणाविरुद्ध अन्तिम लडाईं लड्ने उद्देश्यका साथ काँग्रेसको जन्म भएको थियो । त्यसमा जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । सरोजप्रसाद कोइराला पनि राणाविरुद्धको त्यो क्रान्तिमा उहाँहरूसँगै होमिनुभयो ।
राष्ट्रिय काँग्रेसले आफ्नो पहिलो आन्दोलनका रुपमा बिराटनगर जुटमिलमा मजदूर बिद्रोह गरेको थियो । मजदूरहरूको हक अधिकारलाई लिएर थालिएको त्यो आन्दोलनको खास उद्देश्य चाहिँ राणा शासकहरूलाई चेतावनी दिनुथियो । त्यो आन्दोलनको नेतृत्व तत्कालीन युवा नेता गिरिजाप्रसादले गर्नु भएको थियो । आन्दोलन चर्किएपछि राणा शासकले त्यसलाई दबाउनका लागि काठमाडौँबाट ठूलो सङ्ख्यामा सेनाको फौज पठाएको थियो । त्यो आन्दोलनका क्रममा बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गहेन्द्रहरि शर्मा र युवराज अधिकारी पक्राउ पर्नुभयो । त्यसको विरोधमा मजदूरहरूले सहर र सडकमा निस्केर आन्दोलनलाई झन् चर्काए र आन्दोलन दबाउन गएको सेनाले गोली चलाउँदा केही आन्दोलनकारीको मृत्यु भयो, केही घाइते भए । अब आन्दोलन बिराटनगर मात्रै होइन, देशका विभिन्न जिल्लामा फैलिन थाल्यो ।
त्यसैक्रममा सरोजप्रसाद कोइरालाले जनकपुर क्षेत्रको आन्दोलनको नेतृत्व गर्नुभयो । त्यसक्रममा उहाँलगायत थुप्रै आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । केही समयपछि उहाँहरू छुट्नुभयो । तर क्रान्तिकारी जोश ओइलाएको थिएन । उहाँ फेरि राणा शासनविरुद्ध सक्रिय भएर लाग्नुभयो । फेरि राण शासकले उहाँहरूलाई २००४ साल कात्तिकमा पक्राउ गरेर जलेश्वर जेलमा थुनेर राख्यो । उहाँ जेलमै कैद हुनुहुन्थ्यो । यता काँग्रेसले राणाविद्ध अन्तिम सङ्घर्ष सुरु गरेको थियो । २००७ कात्तिक २६ गतेदेखि नेपाली काँग्रेसले राणाविरुद्ध निर्णायक आन्दोलन प्रारम्भ ग¥यो । त्यो आन्दोलनमा सहभागी हुन नपाएकामा जेलभित्रै सरोजप्रसाद कोइराला छट्पटाइरहनु भएको थियो । त्यो छटपटाहटमा उहाँले जेलमै रहेका साथीहरूसँग मिलेर जेलै फोडेर निस्कनुभयो । त्यसपछि फेरि आन्दोलनमा होमिनुभयो ।
आन्दोलनका क्रममा त्यो बेला नेपाली काँग्रेसले हतियार उठाइसकेको थियो । काँग्रेसका क्रान्तिकारी योद्धाहरू अर्थात मुक्ति सेनाहरूले विभिन्न ठाउँमा रहेका सैनिक र प्रहरीका अड्डाहरू कब्जा गरिरहेका थिए । त्यसैक्रममा मुक्ति सेनाले जनकपुर पनि कब्जा ग¥यो र महेन्द्रनारायण निधिको नेतृत्वमा समानान्तर ‘जनसरकार’ गठन भयो । त्यो जनसरकारमा यातायात मन्त्रीको जिम्मेवारी सरोजप्रसाद कोइरालालाई थियो । यसरी नेपालमा २००७ सालको क्रान्ति सफल भएको थियो । त्यसपछि राणा र काँग्रेस मिलेर अन्तरिम सरकार बनाएका थिए । त्यसको आठ वर्षपछि अर्थात् २०१५ सालमा पहिलोपटक आमचुनाव भयो । त्यो बेला नेपाली काँग्रेसले बहुमत ल्यायो र बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । तर नेपालमा प्रजातन्त्र लामो समय टिक्न सकेन । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जनताबाट प्रजातन्त्र खोसे ।
जननिर्वाचित प्रधानमन्त्री बिपीसमेत कैयौं नेताहरूलाई जेल हाल्ने क्रम सुरु भयो । कठीन सङ्घर्ष गरेर राणा फालेका नेपालका प्रजातन्त्रप्रेमी नागरिक फेरि राजाको निरङ्कुश पञ्चायतविरुद्ध लड्नुपर्ने अवस्था आयो । यो लडाईंको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको थियो । अनि त्यसको एउटा योद्धा सरोजप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध खासगरी युवा र अझ तराईं मधेसका नागरिकलाई सचेत बनाउँदै सङ्घर्षमा गोलबद्ध गर्नु भएका सरोजप्रसाद कोइराला त्यो बेला पञ्चायती शासक र प्रशासकको आँखाको तारो बन्नुभएको थियो । उहाँहरू कहिले भारत र कहिले नेपालका सिमानाका जिल्लाहरूमा लुकिछिपी पञ्चायती शासकविरुद्ध आन्दोलन गर्दै आउनुभएको थियो । त्यही क्रममा २०३० साल कात्तिक २ गते साँझपखको अँध्यारोमा गोली हानेर उहाँको हत्या गरियो ।
आन्दोलनकारीका अनुसार दरवारकै इशारामा उहाँलाई पेशेवर निशानावाजहरूले गोली हानेका थिए । यसरी प्रजातान्त्रिक लडाईं लड्दालड्दै उहाँ सहिद हुनुभयो । आन्दोलन मात्रै होइन, नेपाली काँग्रेसको जग निर्माणमा पनि उहाँको बिछट्टै योगदान छ । काँग्रेसको सङ्गठन निर्माणका लागि उहाँले जनताको घरघरमा पुगेर अभियान चलाउनु भएको थियो । तराईलाई नेपाली काँग्रेसको ‘गढ’ बनाउन उहाँको अद्वितीय भूमिका देखिन्छ ।
राजनीति सँगसँगै उहाँले धेरै सामाजिक कर्महरू पनि गर्नुभएको थियो । त्यो बेला समाजमा कैयांै असमानता र भेद्भावहरू थिए । खासगरी खेती गरिखाने किसानहरू धेरै नै पीडित थिए । खेती लगाउने धेरैजसो जमिन जमिन्दारसँगै हुन्थ्यो तर खेत खोत्ने किसानहरू यति शोषित हुन्थे कि उब्जिएको अन्नबालीको १० भागमा तीन भाग मात्रै किसानले पाउँथे । यस्तो शोषण र असमानता अन्त्य गर्न सरोजप्रसाद कोइरालाले ‘खडेबटैया आन्दोलन’ सुरुवात गर्नुभएको थियो । यो आन्दोलन देशभर नै फैलिएको थियो । यसबारेमा जमिन्दारहरूले शासकहरूलाई कुरा लगाउन थालेका थिए ।
त्यही बेला उहाँले ‘माथिल्लो जात’बाट भेद्भावको शिकार भएका दलित समुदायलाई माथि उठाउने कार्यको पनि थालनी गर्नुभएको पाइन्छ । दलितलाई समान अधिकारका लागि उहाँले जातीय विभेद्विरुद्ध सबै जातले छोएको पानी खुवाउने अभियान चलाउनु भएको थियो ।
यसले पनि तत्कालीन समाजमा ठूलै हलचल ल्याएको थियो । समाज सुधारका कतिपय आन्दोलन त्यो बेला बिपी कोइरालाका लागि पनि प्रेरणा भए । २०१६ सालमा बिर्ता, बेठबेगारी प्रथा उन्मूलन गरेको थियो । नेपाली जनताले प्रत्यक्ष दैनिक जीवनमा अनुभूति गर्न सक्ने गरी भएको समाज सुधारको पहिलो कदम थियो त्यो उन्मूलन । बिर्ता र बेठबेगारी प्रथा उन्मूलन गर्न उहाँले निकै योगदान गर्नुभयो । त्यो प्रस्ताव पारित गर्नका लागि बिपी कोइरालालाई अन्तिम समयसम्म सहयोग गर्ने एकजना पात्र सरोजप्रसाद कोइराला पनि हुनुहुन्थ्यो ।
राजनीति कुनै पद र प्रतिष्ठा प्राप्तिका लागि मात्रै होइन भन्ने मान्यता राख्ने सरोजबाबुले सधैंँ राजनीति जनताका लागि हो भन्ने ठान्नुहुन्थ्यो । राजनीतिमा यति क्रान्तिकारी, निष्ठावान र बलिदानी भावले भरिएको नेता कमै मात्र जन्मिएका छन् । स्मृति दिवसमा सहिद सरोजबाबुप्रति हार्दिक श्रद्धा सुमन । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)
प्रतिक्रिया