सिमलताल दुर्घटना अपडेट : थप एक महिलाको शव भेटियो, हाल सम्म २४ जनाको शव फेला

गत असार २८ गते शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएका मध्ये २४ जनाको शव फेला परेको छ।

 

खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले शुक्रबार (साउन ४ गते) अपरान्ह प्रकाशित गरेको बुलेटिन अनुसार २४ जनाको शव फेला परेको हो।

पछिल्लो पटक पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा महिलाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।

हालसम्म भेटिएका २४ शवमध्ये १५ वटाको सनाखत भएको छ भने ९ वटा शव पहिचान हुन बाँकी छ।

सनाखत हुन बाँकी ७ पुरुष र २ महिलाका शव छन्।

सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन्।

असार २८ गते भएको सो घटनाको तीन दिनपछि असार ३१ गते मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण सार्वजनिक भएको थियो।

जिल्ला प्रशासन कार्यालय चितवनले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको जनाएको थियो।

गणपति बसका तीनजना यात्रु भने त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए।

हराएका बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।

यस्तो छ मृतकको विवरण