सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प

१४ असार, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।

भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् ।

१ असार २०७८ को दिन सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए ।

हेलम्बुमा १२७ र मेलम्चीमा १५ घर परिवारलाई सुरक्षित स्थानामा पुनर्स्थापना गर्नुपर्ने छ । तर भौगर्भिक अध्ययन नहुँदा उनीहरुको स्थानान्तरण भएको छैन । त्यसैले अहिले पनि उनीहरु जोखिम क्षेत्रमै छन् ।