टी२० विश्वकप : आजदेखि सुपर आठका खेल हुँदै , पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका खेल्दै

जारी टी२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल सुरु हुँदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ ।यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।

दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिस्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रिकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडि आएको छ । अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडि बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि आयरल्याण्डलाई पराजित गरेको थियो भने पाकिस्तानविरुद्धको खेल वर्षाले रद्द भएको थियो ।

टी२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङ्ल्याण्डसँग एकएक खेल खेल्ने छन् ।