क्रिस्टियानो रोनाल्डो इतिहासमा सर्वाधिक युरोकप खेल्ने खेलाडीकाे दर्ज हुने

पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इतिहासमा सर्वाधिक युरोकप खेल्ने खेलाडीमा दर्ज हुने भएका छन् । आज राति चेक रिपब्लिकविरुद्ध खेल खेलेमा उनले युरोकपको‌ ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाउनेछन् । 

३९ वर्षीय रोनाल्डो यसअघि २००४, २००८, २०१२, २०१६ र २०२१ संस्करणमा पोर्चुगलको टोलीमा थिए । रोनाल्डो सम्मिलित टोली सन् २०१६ को युरोकप फाइनलमा आयोजक फ्रान्सलाई हराएर च्याम्पियन बनेको थियो । 

हालसम्म उनले देशका लागि २ सय ८ खेलमा १ सय ३० गोलको कीर्तिमानी बनाएका छन् । रोनाल्डोले २००४ मा ग्रिससँग समूह चरणमा २–१ ले पराजित हुँदा पोर्चुगलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा कुल १४ गोल गरेका छन् ।  जुन प्रतियोगिताको इतिहासमा कुनै पनि खेलाडीको सबैभन्दा धेरै गोलसंख्या हो ।

रोनाल्डोले अझै खेलबाट सन्न्यास लिने संकेत देखाएका छैनन् । उनको गोलसंख्या अझै थपिने सम्भावना छ ।