ईशनाथको आधारभूत विद्यालयको भवन निर्माण अनियमितता : प्रमुख प्रशासकीय अधिकृतसमेत सबैलाई सफाइ

२ असार, काठमाडौं : रौतहटको ईशनाथ नगरपालिका वडा नं. ५ स्थित श्री आधारभूत विद्यालयको भवन निर्माणमा अनियमितता भएको मुद्दाका सबै प्रतिवादीले सफाइ पाएका छन् । आइतबार विशेष अदालतले गत चैतमा दायर मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ५ चैतमा ३ जनामाथि मुद्दा चलाएको थियो । नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इञ्जिनियर सत्यपाल सौरभ र उक्त विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरलाई प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो । 

लक्ष्मिनियाँस्थित दुई कोठे पक्कि भवन निर्माण गर्दा सम्झौताभन्दा कम गुणस्तरका सामग्री प्रयोग भएकोमा कार्यसम्पन्न प्रतिवेदनमा ती कुरा उल्लेख नगरेको, काम पूरा नहुँदै भएकोभन्दा बढी काम देखाएको अभियोग इञ्जिनियर सौरभमाथि थियो । उनको कार्यबाट सरकारलाई ८६ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको दाबी अख्तियारले गरेको थियो । 

यसैगरी प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि सम्झौताबमोजिम पेस गर्नुपर्ने कागजात चेकजाँच नगरी बाँकी रकम भुक्तानी दिएका थिए । यसबाट सरकारलाई २ लाख ३५ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको अभियोग लगाइएको थियो । 

प्रधानाध्यापक अख्तरले भने भएकोभन्दा तीन लाख रुपैयाँ बढी खर्च देखाइ भुक्तानी लिएको दाबी अख्तियारले गरेको थियो । उनीहरु तीनै जनालाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको हो ।